१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दीपिकाको अपार्टमेन्ट भवनमा रणवीर भाडामै !


२० पुस, एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह अहिले निकै चर्चामा छन् । भारतीय सञ्चारमाध्यमहरूमा उनीबारे फैलिएको खबरले सबैलाई अचम्म पनि बनाएको छ ।

सञ्चारमाध्यमहरूका अनुसार रणवीरले नयाँ फ्ल्याट भाडामा लिएका छन् । यो फ्ल्याट उनकै पत्नी तथा अभिनेत्री दीपिका पादुकोणको फ्ल्याट भएकै भवनमा छ ।

दीपिकाले सन् २०१० मा मुम्बईको प्रभादेवीस्थित बीउमोंड टवर्समा १६ करोड भारुमा ४ बेडरूम भएको फ्ल्याट किनेकी थिइन् । अहिले आएर रणवीर यही भवनमा महिनामा ७ लाख २५ हजार भारु तिर्ने गरी अर्को फ्ल्याट भाडामा लिएका बताइएको छ ।

द इन्डियन एक्सप्रेस र टाइम्स अफ इन्डियाका अनुसार रणवीरले ३ वर्षका लागि फ्ल्याट भाडामा लिएका हुन् ।

पहिलेका २ वर्ष उनले ७ लाख २५ हजार र पछिको एक वर्ष उनले सात लाख ९७ हजार भारू भाडा दिनुपर्नेछ ।

यो खबरले धेरैलाई चकित बनाइरहेको छ । रणवीर र दीपिकाले गत वर्ष मार्चमा बिहे गरेका हुन् । आफ्नै श्रीमतीको फ्ल्याट भएको घरमा उनले किन अर्को फ्ल्याट भाडामा लिए भन्नेबारे चासो बढिरहेको छ ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०९:०३