८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गोरखापत्र संस्थानको १० टन कागज हरायो, नयाँ नेपालको प्रभावकारिता जाँच्ने नाममा १९ लाख स्वाहा


२१ पुस, काठमाडाैँ । मुलुककै जेठो सञ्चार संस्था गोरखापत्र संस्थानबाट १० टन कागज हराएको छ । हराएको भनिएको उक्त कागज नागरिक दैनिकमा पुगेको पाइएको गोरखापत्रको प्रशासन शाखाका कर्मचारीले बताएका छन । गोरखापत्र संस्थानको व्यवस्थापनले कुनै प्रक्रिया नै नपुर्याई नागरिक दैनिकलाई सापटीको रूपमा कागज दिएको पाइएको छ । कर्मचारीले १० टन कागज खोजी गर्दा अध्यक्ष कृष्णमुरारी भण्डारी र व्यवस्थापन सल्लाहकार टीकाराम राईले गोप्य रूपमा कागज सापटीमा दिइएको पाइएको हो ।

गोरखापत्रमा जागिर खान पुगेका भण्डारी-राईको जोडीले पछिल्लो समय गोरखापत्र संस्थानमा एकपछि अर्को गर्दै विवादित र गैरकानुनी काम गरिरहेका छन । गैर कानुनी रूपमा कार्यकारी अध्यक्ष भण्डारी रिपोर्टरको कोटामा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार र जापानको भ्रमणमा सहभागी भएपछि बाहिरिन थालेको संस्थानका कमजोरी एकपछि अर्को गर्दै सार्वजनिक भैरहेका छन । भण्डारी र राईले कसको अनुमतिमा यति ठूलो परिमाणमा कागज दिए भन्ने विषयमा अझै केही खुलेको छैन । तर नागरिकले केही दिनमा दिने भने पनि झण्डै चार महिना भएपनि उक्त मात्राको कागज गोरखापत्र फर्कन सकेको छैन ।

गोरखापत्रको नयाँ नेपाल पृष्ठ । यही पृष्ठको प्रभभावकारिता जाँच्न १९ लाख खर्च गरिएको छ ।

प्रभावकारिता जाँचको नाममा १९ लाख स्वाहा

गोरखापत्र संस्थानले विभिन्न भाषामा प्रकाशित गर्ने नयाँ नेपाल भन्ने पृष्ठको प्रभावकारिता जाँच्नका लागि १९ लाखको परियोजना तयार पारेर पैसा स्वाहा पारिएको अर्को तथ्य दैनिकीले प्राप्त गरेको छ । त्रिविको केन्द्रीय मानवशास्त्र विभागमा कार्यरत प्रा डम्बर चेमजोङलाई उक्त १९ लाखको परियोजना दिइएको हो । स्रोतका अनुसार १९ लाख खर्च गरेर कस्तो अनुसन्धान भयो रु त्यसको निष्कर्ष के आयो रु गोरखापत्र संस्थानका दुई जनाबाहेक अरूलाई कुनै जानकारी नै छैन । उक्त स्रोतका अनुसार गोरखापत्र संस्थानको सम्पादकीय समूहमा कार्यरतले समेत नयाँ नेपाल पृष्ठको प्रभावकारिता अध्ययनको बारेमा न पहिले जानकारी पाए न अहिले नै जानकारी पाएका छन । तर १९ लाख रूपैयाँ भने स्वाहा भएको छ ।

तालिमका नाममा ककटेल पार्टी

गोरखापत्र संस्थानमा कार्यरत विभागीय प्रमुखहरू मध्ये कार्यकारी अध्यक्ष भण्डारी र व्यवस्थापन सल्लाहकार राईको निकट रहेका केहीलाई लिएर केही साताअघि तालिमका नाममा बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा ककटेल पार्टी दिइएको थियो । खरिद , सुशासन र चुस्त निर्णयबारे तालिम भन्ने नाम गरेर दुई दिनका लागि गरिएको उक्त कार्यक्रमको पहिलो दिनको कार्यक्रम मदिरामा झुमेको थियो । उक्त पार्टीमा निमन्त्रणा पाएर पनि केही विभागीय प्रमुखले भने सहभागिता जनाएनन् । स्रोतका अनुसार ककटेल पार्टीको भोलिपल्ट केही घण्टा औपचारिक कार्यक्रम जस्तो गरेर तालिम सकिएको थियो । संस्थानको विकासमा लगाउनु पर्ने पैसा ककेट पार्टी गरेर सकेको भन्दै गोरखापत्रका केही वरिष्ठ कर्मचारी नै असन्तुष्ट बनेका छन । उनीहरूले गोरखापत्र राम्रो बनाउने नाममा समाप्त पार्ने गतिबिधि भैरहेको भन्दै दैनिकी मार्फत चिन्ता प्रकट गरेका छन ।

खरिद , सुशासन र चुस्त निर्णयबारे तालिम भन्दै पार्क भिलेज रिसोर्टमा गरिएको कार्यक्रम ।

मन्त्रिपरिषद्ले नियुक्त गरेका कर्मचारीको कर काटिने तर अध्यक्षले नियुक्त गरेकाको कर कट्टी नहुने 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष भण्डारी रिपोर्टरको कोटामा विदेश घुम्न गएको विषय दैनिकीले सार्वजनिक गरेपछि गोरखापत्र संस्थानका पत्रकार र कर्मचारीहरू नै छक्क परेका थिए । दैनिकीले प्राप्त गरेको तथ्यमा भण्डारीले फोटोग्राफी प्रशिक्षकको रूपमा सदृश्य डटकमका सम्पादक चन्द्रशेखर कार्कीलाइ ७ महिनादेखि तलब खुवाउँदै आएका छन । सुरूमा फोटोग्राफीका केही कुरा सिकाएको भएपनि त्यसपछि कार्कीले खासै काम नगरेको र कहिलेकाँहीमात्र कार्यालयमा हाजिर हुने गरेको फोटोग्राफी शाखाका कर्मचारी बताउँछन ।

चन्द्रशेखर कार्कीको तलब भुक्तानी गर्न अध्यक्ष भण्डारीको अनुरोधमा प्रशासन प्रमुखले अर्थ विभागमा लेखेको पत्र ।

एक महिनामा करिब १५ देखि १७ दिन गोरखापत्रमा साँझपख झुल्कने बाहेक कार्कीले अन्य काम गरेका छैनन्, एक कर्मचारीले दैनिकीसँग भने ।  ‘६ जनाले काम गर्ने गोरखापत्रको फोटोग्राफी विभागमा सात महिनादेखि प्रशिक्षक नै राखेर प्रकाशित गरेको जस्तो देखिने तस्बीरहरू समेत देखिदैन उनले भने ।’ गोरखापत्र फोटोग्राफी शाखामै कार्यरत एक फोटोग्राफरका अनुसार केहीदिन अघि सूर्य ग्रहणको समयमा सदृश्यमा प्रकाशित भैसकेको समाचार गोरखापत्रमा प्रकाशित गर्न खोज्दा रोकिएको थियो । तर राइजिङ नेपालले भने प्रकाशित गरेको थियो । ती कर्मचारीका अनुसार गोरखापत्रले राइजिङ नेपालको वार्षिकोत्सवको समाचार समेत राससको प्रकाशित गरेको थियो ।

गोरखापत्र स्रोतका अनुसार मन्त्रिपरिषद्ले गोरखापत्रमा नियुक्त गरेका पत्रकारको तलब ४२ हजार छ तर अध्यक्षले बोर्डमा समेत नलगि नियुक्त गरेका कर्मचारीको तलब ५० हजार रूपैयाँ छ । जसको कर समेत कट्टी नगर्न लेखा शाखामा अध्यक्षको उर्दी छ । अध्यक्ष भण्डारीले आफू निकटकाले लेखेको लेखको पैसा समेत बढी भुक्तानी गराउने गरेका छन ।

कर्मचारीलाई अपमानित शब्दले सम्बोधन

दुई तिहाइ मतसहितको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको वर्तमान सरकार भएका कारण गोरखापत्र संस्थानमा कार्यरत पूर्व एमाले निकटका कर्मचारीले केही सहज महशुष हुने अपेक्षा गरेका थिए । तर अध्यक्ष भण्डारी र व्यवस्थापन सल्लाहकार दुबैले पूर्व एमाले निकटका पत्रकार र कर्मचारीमाथि हदैसम्म पूर्वाग्रह राखेर काम गरिरहेको उनीहरूको गुनासो छ । राईले प्राय कर्मचारीलाई अर्काले सुन्न समेत नसक्ने भाषा प्रयोग गरेर गाली गर्ने गरेको उनीहरूको गुनासो छ ।

यो पनि पढ्नुहोस्

-गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी रिपोर्टरको कोटामा राष्ट्रपतिसँगै विदेश

-कागज खरिदमा भ्रष्टाचार गरेका गोरखापत्रका महाप्रबन्धक बसन्त उपाध्याय दोस्रो पटक बर्खास्त

-आर्थिक वर्षको अन्त्यमा पनि गोरखापत्रमा कांग्रेस कार्यकर्ताको भर्ति रोकिएन, अध्यक्ष मुकदर्शक

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार १४:१५