६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

चिसोका कारण नेपालगञ्ज र डुडुवाका विद्यालय ४ दिनका लागि बन्द


१५ पाैष, नेपालगञ्ज । अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिएको छ । ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, आजदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । निरन्तरको शीतलहर र चिसोले यस क्षेत्रकै जनजीवन कष्टकर बनेपछि विद्यार्थीको सजिलोको लागि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगञ्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

यसैबीच, अत्यधिक चिसोका कारण नेपालगञ्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उपमहानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ । उनीहरुलाई चिसोबाट जोगाउन उपमहानगरपालिकाले वडा कार्यालयमाफत टोल टोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १२:११