१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सूर्यग्रहण कसरी हेर्ने : के गर्ने, के नगर्ने


१० पुस, काठमाडौं अहिले केहीबेरमा सूर्यग्रहण लाग्दै छ । अंग्रेजी क्यालेन्डरबमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ ।

नेपालमा बिहान ८.३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ मिनेटमा मध्य हुने र ११.३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा नेपालबाट करिब १०.०० बजे सूर्यको करिब ४० प्रतिशत भाग ढाकिएको देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

एष्ट्रोनोमिकल सोसाइटीले ग्रहणको समय तीन घण्टा ३० मिनेट रहेको जनाएको छ । तर ज्योतिष परिषद्ले भने दुई घण्टा ४९ मिनेट मात्रै हुने जनाएको छ । राति ९ बजेर ४२ मिनेटदेखि सुतक लाग्ने ज्योतिष परिषद्का केन्द्रीय सदस्य समेत रहेका ज्योतिष केशव गौतमले बताए ।


ग्रहणमा के गर्ने
, नगर्ने ?
खगोल विज्ञानले ग्रहण लागेका बेला गर्न हुने-नहुने केही नरहेको बताउँछ । तर धार्मिक मान्यतासँगै ज्योतिष विज्ञानले भने सूर्य ग्रहणको बेला गर्न हुने र नहुने कार्यलाई वर्गीकरण गरेको छ । उक्त मान्यता बमोजिम ग्रहण लागेको बेला दानपुण्य गर्ने, भिक्षा दिने, धार्मिक कार्य गरे राम्रो प्रतिफल पाउने हो ।

ज्योतिष गौतमका अनुसार ग्रहण लागेको गंगा स्नान गर्ने, मन्त्र सिद्धि प्राप्त गर्ने, गुरु बनाउने जस्ता कार्यको प्रतिफल राम्रो हुने बताउँछन् । धार्मिक मान्यता बमोजिम सूर्यलाई भगवानको रुपमा पूजिन्छ । सूर्यमाथि दोष लागेको बेला र भगवान नै पीडामा हुँदा मनोरञ्जनात्मक गतिविधि गर्दा श्रापित हुने र पाप कर्मको रुपमा गणना हुने गौतम भन्छन् ।

समाजका अध्यक्ष भट्टराईले भने अन्य दिन जसरी नै सूर्य ग्रहणका बेला पनि सूर्यलाई नाङ्गो आँखाले हेर्न नहुने सुझाउँछन् । छायाँ पारेर वा सूर्य ग्रहण हेर्न प्रमाणित पोलिमरको चश्मा मात्र प्रयोग गर्नु उपयुक्त हुने खबर गोरखापत्र दैनिकमा छ ।

कुन राशिलाई के योग ?
ज्योतिष केशव गौतमले सूर्यग्रहण लागेको बेला ८ राशिले सूर्यग्रहण हेर्न वर्जित रहेको बताउँछन् । सूर्यग्रहणका बेला धनु राशिको मूल नक्षत्रमा रहने हुनाले धनु राशि र मूल नक्षत्र भएका ब्यक्तिले सूर्य ग्रहण हेर्न नहुने उनको सुझाव छ । उनले यसपटकको सूर्यग्रहण ४ राशिका लागि मात्रै लाभ योग रहेको प्रस्ट्याए । कर्कटलाई सुख प्राप्ति, तुलालाई श्री-यश-मानको प्राप्ति हुने तथा कुम्भ राशि भएकाले धन, पदलाभ हुनसक्ने र मीन राशिलाई सुख प्राप्ति हुनेछ ।

मेष राशि – मान नाश हुने

वृष – शारीरिक एवं मानसिक कष्ट हुने

मिथुन – स्त्री पीडा

सिंह – मानसिक-स्वास्थ्य चिन्ता

कन्या – साना रोग-व्याधा बढ्ने

वृश्चिक – धन-मानको क्षति हुने

धनु – विशेष घात

मकर – व्यय-खर्च बढ्ने

ज्योतिष शास्त्रले ग्रहणका बेला सूर्य बसेको राशिबाट अन्य राशिहरुको अवस्थितिको आधारमा विभिन्न राशिको योग पत्ता लगाउँछ ।

सूर्यग्रहण कसरी लाग्छ ?
सामान्यतया चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पर्दा सूर्यग्रहण लाग्छ । पृथ्वी र चन्द्रमाले सूर्यको परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको ठीक बीचमा पर्ने संयोग नै सूर्यग्रहण हो । अर्थात चन्द्रमा बीचमा परेको बेला सूर्य चन्द्रमाले छेक्न पुग्दा पृथ्वीमा छायाँ बन्न जान्छ । र छायाँ बनेको पृथ्वीको धरातलमा सूर्य छेकिन गएको देखिने अवस्थालाई सूर्यमा ग्रहण लागेको भनिन्छ । खण्डग्रास र खग्रास सूर्यग्रहण देखिनुमा विभिन्न तत्वले काम गरेको हुन्छ । चन्द्रमा र पृथ्वीले आफ्नो अक्षमा घुम्ने क्रममा प्रत्येक १८ महिनामा पृथ्वीको कुनै न कुनै भागमा सूर्यग्रहण लागेको देखिन्छ ।

चन्द्रमाको बनोट करिब साढे करोड वर्षअघि भएको विश्वास गरिन्छ । र बिस्तारै चन्द्रमा पृथ्वीबाट टाढिँदै छ । उक्त दुरी वार्षिक करिब १.६ इञ्च-चार सेन्टिमिटर मापिएको छ । वर्तमान अवस्थामा आकाशमा चन्द्रमाको आकार सूर्यको जत्तिकै देखिन्छ । र त्यसै कारणले पूर्णरुपमा छेकेको देखिने हो । तर उक्त कारण सधैं सत्य हुन्न ।

नेपालबाट सूर्यको खण्ड परेको भाग मात्रै देखिने हुँदा यसपटकको ग्रहणलाई वलय सूर्य ग्रहण भनिएको हो । नेपालबाट ‘रिङ्ग अफ फायर’को आकारमा सूर्य देखिन्न । तर यूरोप, एसिया, अष्ट्रेलिया र अफ्रिकाको केही भागबाट भने सूर्य उक्त आकारमा देखिनेछ ।

नेपालको पूर्वी भागबाट यसअघि सन् १९६५ को नोभेम्बर २३ तारेखको बिहान ‘रिङ्ग अफ फायर’को आकारमा सूर्य देखिएको थियो । अब फेरि नेपालले उक्त संयोगका लागि करिब ४५ वर्ष कुर्नुपर्नेछ । ‘रिङ्ग अफ फायर’कै आकारमा अब सन् २०६४ को फेब्रुअरी १७ को बिहान नेपालबाट सूर्य ‘रिङ्ग अफ फायर’को आकारमा देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

ज्योतिष शास्त्रले सूर्यग्रहणबारे के भन्छ ?
ज्योतिषि शास्त्रबमोजिम भने सूर्यमाथि राहुको प्रकोप लागेपछि सूर्यग्रहण लाग्छ । ज्योतिष केशव गौतमले धार्मिक मान्यता बमोजिम सूर्य राहुबाट ग्रसित भयो भने ग्रहण लागेको बताउँछन् । सूर्यग्रहणलाई समुद्र मन्थनसँग जोडिएको छ । समुद्र मन्थनपछि निस्केको अमृत विष्णुले कन्याको रुप धारण गरी देवता र दानवमा बाँड्न थाल्नुभयो । अमृत देवतालाई मात्रै दिने र छल गरेर दानवलाई अमृत नदिने देखेपछि एकजना दानव देवताको रुप धारण गरी अमृत लिन पुगे ।

दानवले देवताको रुप धारण गरेको देख्ने देवताले उक्त रहस्य खोल्नुभयो । र दानव र देवताबीच ठूलै युद्ध हुन पुग्यो । रहस्य खोल्ने अरु कोही नभई राहु हुनुहुन्थ्यो । ज्योतिष गौतमका अनुसार दानवबाट बच्न राहु संरक्षणको लागि कहिले सूर्यतिर ढल्किने त कहिले चन्द्रमा तिर ढल्किने अवस्था आयो । र दानवबाटै श्रापित भएर सूर्यतिर ढल्किदा सूर्यग्रहण लाग्ने र चन्द्रमातिर ढल्किदा चन्द्रग्रहण लाग्ने गौतमले बताए ।

सूर्य वा चन्द्रग्रहण लागेको बेला भोजन गर्दा, नाङ्गो आँखाले हेर्नु जस्ता गतिविधि गर्नेलाई राहुको प्रकोप हुनु भनेको उक्त प्रकृयाले गर्दा नै भएको उनको तर्क छ ।

प्रकाशित मिति : १० पुष २०७६, बिहीबार ०६:५१