१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

३ कक्षासम्म एकै शिक्षकले पढाउनु पर्ने


२७ मंसिर, काठमाडौं कक्षा १-३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् ।

आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदै छ । सोअनुसार कक्षा १-३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने खबर गोरखापत्र दैनिकमा छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी (उपसचिव) गणेशप्रसाद भट्टराईले अब एउटै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ भन्दै थपे, “एउटै विषयवस्तु भएकाले उनीहरूले अध्यापन गर्न सक्छन् ।”

प्रतिकात्मक तस्बिर ।

आगामी वर्षबाट कक्षा १-३ मा नेपाली, अंग्रेजी, गणित र मेरो सेरोफेरो विषय अध्यापन गरिनेछ । चालू शैक्षिक सत्रमा कक्षा १-३ मा नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य र स्थानीय विषय अध्यापन गरिँदै आएको छ ।

प्राथमिक तहमा साबिकको एसएलसी र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएका शिक्षकहरू अधिक संख्यामा कार्यरत छन् । नयाँ नियुक्त भएका शिक्षकको योग्यता बढी छ । पुराना शिक्षकले नेपाली, अंग्रेजी, गणित अध्यापन गर्न कठिन हुने शिक्षाविज्ञहरूको भनाइ छ ।

सरस्वती निकेतन मावि, ब्रह्मटोलका प्रधानाध्यापक रविना महर्जनले एकीकृत पाठ्यक्रमको अवधारणा निकै राम्रो भए पनि एउटै शिक्षकले अध्यापन गर्दा चाहेजस्तो सिकाइ कक्षाकोठाभित्र प्रवेश गर्न नसक्ने सम्भावना रहने बताए ।

नयाँ पाठ्यक्रम लागू हुने समयनजिकै आइसक्दा पनि शिक्षकलाई तालिम दिनेलगायत तयारी भइसकेको छैन । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले पाठ्यक्रमका दृष्टिकोणले एकीकृत पाठ्यक्रमको सोच उपयुक्त भएको तर त्यसअनुरूप अध्यापन गर्ने शिक्षक तालिम प्राप्त नभइसकेकाले समस्या सिर्जना हुन सक्ने बताए ।

“हाम्रा कतिपय शिक्षक एसएलसी वा १२ कक्षा उत्तीर्ण छन् । उनीहरूलाई विशेष प्रकारको तालिम नदियूञ्जेल एकीकृत पाठ्यक्रम सफल हुन सक्दैन”, उनले भने । पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रमा १८ जिल्लाका १०३ वटा विद्यालयमा परीक्षणका रूपमा एकीकृत पाठ्यक्रम लागू गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार ०७:५६