१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

२४ मंसिर, काठमाडौं नेकपा स्थायी समिति बैठक पोहोर मंसिर २९ गते बसेको थियो । बीचमा बस्न सकेन । संयोगवश ठीक १ वर्षमा बस्दै छ मंसिर २९ गते नै । अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि पार्टीको संगठनात्मक सक्रियता बढेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार बसेको सचिवालय बैठक । तस्बिर : प्रचण्डको सचिवालय

सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्नेदेखि लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ ।
त्यस्तै अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थरजस्ता कार्य तत्काल हुने भएका छन् । अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो । यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो । पार्टी विधानअनुसारका नियमित बैठकसमेत एक वर्षयता बस्न नसकेको खबर अन्नपूर्ण पोस्टमा छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष दाहालको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले लिएका निर्णयबाट अब पार्टी सञ्चालनका अवरुद्ध यी सबै प्रक्रिया अगाडि जाने प्रतिक्रिया नेताहरुले दिएका छन् ।
मंसिर २९ मा सुरु हुने स्थायी समिति बैठक दुई दिनभित्र टुंग्याउने र लगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । सोहीअनुसार स्थायी समिति बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी समिति बैठकअगाडि मंसिर २७ मा सचिवालय बैठक बस्नेछ ।

विधान संशोधन हुँदै
नेकपाले पार्टी एकताको १८ महिनापछि एकीकृत पार्टीको अन्तरिम विधान संशोधन गर्न लागेको छ । एक वर्षअगाडिदेखि नै पार्टी स्थायी समितिले विधान परिमार्जन गर्ने सैद्धान्तिक निर्णय गरे पनि प्रक्रिया अवरुद्ध थियो । अबको स्थायी समिति बैठकमा विधान संशोधन प्रस्ताव तयार पार्ने र निर्णयार्थ लैजाने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । विधान संशोधन गर्दा प्रस्तावनामै परिमार्जन हुनेछ । यस्तै सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउन विधानमै उपाध्यक्ष पदको व्यवस्था हुनेछ ।

केन्द्रीय विभाग र आयोगलाई पूर्णता दिँदै
नेपाले पार्टीका केन्द्रीय विभाग र केन्द्रीय आयोगलाई पूर्णता दिने निर्णय गरेको छ । ती निकायले प्रमुख–उपप्रमुख पाए पनि पूर्णता पाउन सकेका छैनन् । केन्द्रीय आयोग र विभागका प्रमुख–उपप्रमुखलाई नेकपाले ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव तयार पारी महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठकमा प्रस्तुत गर्न निर्देशन दिएको छ ।
नेकपाका झन्डै ८ लाख पार्टी सदस्य रहेको बताइएको छ । तर केन्द्रीय कार्यालयसँग ती सदस्यको अभिलेखीकरण छैन । आगामी चैतसम्म सदस्यता नवीकरण गर्ने, सबै पार्टी सदस्यलाई पार्टी कमिटीमा आबद्ध गर्ने लगायतका विषय गौतमले पेस गरेको ४ पृष्ठ लामो कार्ययोजना प्रस्तावमा छ ।
पार्टी कमिटीमा बस्ने हरेक सदस्यले स्कुल विभागले तयार पारेको पाठ्यक्रममा आधारित भई कक्षा लिनुपर्ने, परीक्षा दिनुपर्ने, परीक्षा पास भएकाले मात्र कमिटीमा जोडिन पाउने, प्रत्येक संगठित सदस्यले वर्षमा चार जना सदस्य बनाउनुपर्ने, समयमै सदस्यता नवीकरण नगर्नेले नयाँ प्रक्रियाबाट सदस्यता लिनुपर्ने जस्ता प्रावधान कार्ययोजनामा छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०७:२०