१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

१३औँ सागः भारोत्तोलनमा अधिकारी दम्पतीलाई कास्य


२१ मंसिर, पाेखरा । १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा सञ्चालित भारोत्तोलन प्रतियोगितामा नेपालका कमलबहादुर अधिकारी दम्पतीले कास्य पदक प्राप्त गर्नुभएको छ । पोखरा महानगरपालिका–१२ माटेपानीमा आयोजित प्रतियोगिताको शुक्रबार पुरुष ६७ केजी तौल र उहाँकी धर्मपत्नी राज्यलक्ष्मीले ७१ केजी तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको हो ।

१०औँ संस्करणका स्वर्ण विजेता कमल १३औँमा पुरुषतर्फका सो समूहमा कास्यमा सीमित हुनुभएको छ । प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८३ सहित कूल १५० किलो भार उठाउँदै कास्य हात पार्नुभयो । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बङ्गलादेशले रजत पदक जित्नुभयो । भारतकी मनप्रीत कौरले स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १०७ गरी कूल १९२ किलो भार बहन गरी स्वर्ण जित्नुभएको हो । बङ्गलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लिन एन्ड जर्क विधामा ८५ गरी कूल १५५ किलो बहन गर्दै रजतमा सीमित रहनुभयो ।

उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठ्न सक्नुभएन । नेपाल प्रहरीमा आबद्ध उहाँले १२औँ संस्करणमा नेपाललाई कास्य दिलाउनुभएको थियो ।

यसपालि उहाँले १५३ किलो तौल उठाउँदै कास्य जित्नुभएको हो । उहाँले स्न्याचमा ६८ र क्लिन एन्ड जर्कमा ८५ किलो तौल उठाउनुभयो । सो तौल समूहमा भारतले नै स्वर्ण जित्न सफल भयो । भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लिन एन्ड जर्कमा ११० गरी २०० किलो उठाउँदै शीर्षस्थानमा रहनुभयो । यस्तै, श्रीलङ्काकी भी हर्षिकाले रजत जित्नुभयो । उहाँले स्न्याचमा ७० र क्लिन एन्ड जर्कतर्फ एक सय गरी कूल १७० किलो भार बहन गर्नुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १३:०२