११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सरकारी कम्पनीलाई धान बेच्न किसान तयार


२१ मंसिर, वीरगन्ज । सरकारले यस वर्ष किसानबाट धान खरिद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेपछि वीरगन्जका किसान सरकारी कम्पनीलाई नै धान बेच्ने सोच बनाएका छन् । बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाएका छन् ।

यसपालि सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निजीस्तरका व्यापारीभन्दा बढी राखेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगन्जस्थित कार्यालयमा धान बेच्ने किसानको लर्को लागेको छ । बजार भाउभन्दा प्रतिक्विन्टल ३ सय ७३ रुपैयाँ १६ पैसा बढी मूल्यमा कम्पनीले धान खरिद गर्ने भएपछि धान बेच्न कार्यालयमा आएको अर्का किसान शेषमन पण्डितको भनाइ छ ।

“धान बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान एकाबिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरीद गर्न थालिएको छ,” शाखा प्रमुख नरनाथ अधिकारीले भने, “यस वर्ष राम्रो मूल्य पाएकै कारण सोचेभन्दा धेरै बढी किसान आउने गरेका छन् ।” सरकारले यस वर्ष सोना मन्सुली धान प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा र जिरा मसिनो धान प्रतिक्विन्टल ३ हजार २० रुपैयाँमा खरीद गर्ने मूल्य तोकेको छ ।

यस वर्ष सोना मन्सुली १५ हजार तथा जिरा मसिनो धान ५ हजार गरी २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकामा बुधबारसम्म सोना मन्सुली धान २६१ क्विन्टल ९६ केजी तथा जिरा मसिनो धान ५ क्विन्टल ८५ केजी खरीद गरिसकेको कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए ।

सरकारले यस वर्ष धान खरिदको मूल्य बढाएपछि बारा तथा पर्साका किसान धान बेच्न सो कार्यालयमा आउने गरेका छन् । व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र खरीद गर्ने गरेको छ ।

कम्पनीको वीरगन्ज कार्यालयले ठाउँ-ठाउँमा धान खरिद गर्ने व्यवस्था नगर्दा ग्रामीण क्षेत्रबाट धान बिक्री गर्न आउने किसानलाई ट्राफिक प्रहरीबाट सास्ती भोग्नुपरेकाले ठाउँ-ठाउँमा काँटा राख्नुपर्ने पर्सा हरिहरपुर बिर्ताका किसान सञ्जयप्रसाद कुर्मीको भनाइ छ ।

कार्यालयले चालू आव ०७५/७६ मा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा २४ हजार ५ सय ८७ क्विन्टल धान खरिद गरेको थियो । कार्यालयले आव ०७४/७५ मा ८ करोड २५ लाख रुपैयाँबराबरको ३ हजार टन सोनामन्सुली र जिरा मसिनो धान खरिद गरेको थियो ।

अमेरिकी सरकारले हजार टन धान भण्डारण गर्ने क्षमताको एउटा गोदाम बनाएपछि कार्यालयसँग भण्डारण गर्ने ४ हजार टन क्षमताको ५ गोदाम छन् । कार्यालयसँग अहिले अघिल्लो वर्षको सोनामन्सुली, जिरा र जापानी चामल गरी १९ सय क्विन्टल ३३ केजी सोना मन्सुली चामल मौज्दात छ ।

कार्यालयले धान खरिद गरी उत्पादन गर्ने चामल आवश्यकताअनुसार गोरखा, काठमाडौं, पोखरा, धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।

विगत वर्षसम्म निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयलाई लक्ष्य पूरा गर्न धौधौ परिरहेको थियो तर यस वर्ष धानको खरिद गर्ने मूल्य सरकारले १० प्रतिशत बढाएपछि धान उत्पादक किसानले आफ्नो धान कम्पनीको कार्यालय वीरगन्जमा ल्याएर नगदमै धान बेच्ने गरेकाले तोकिएको लक्ष्य समयमै पूरा हुने विश्वास कार्यालयले लिएको छ । पर्सा जिल्लामा यस वर्ष किसानले ४५ हजार हेक्टरमा धानखेती गरेको जनाइएको छ । –रासस

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १०:४०