८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भन्सार कर्मचारीको सेटिङमा कर छली


२१ मंसिर, काठमाडौं भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ । सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला पारेको छ ।

भैरहवाका एक व्यापारीका अनुसार सामान आयात गर्दा गाडी भाडा उल्लेखि बिल (बिल्टी), भारतीय भन्सारको सिपिङ बिल र बिमा कागज आवश्यक पर्छ । आलु र प्याजको हकमा भने कर्मचारीले यी कागजपत्र नलिने गरेको ती व्यापारी बताउँछन् । कागज नहुँदा आफूहरूले नियमानुसार आयातित सामानको कुल मूल्यमा १२ प्रतिशत थप गरी त्यसबराबरको राजस्व बुझाउँदै आएको उनको भनाइ छ । भारतबाट प्याज निर्यात रोकिए पनि आलु निरन्तर रहेको खबर अन्नपूर्ण पोस्टमा छ ।

कुनै पनि सामग्री आयातमा भन्सारले त्यसको कुल मूल्यमा गाडी भाडा र बिमा शुल्क जोडेर त्यसबराबरको राजस्व लिने गर्छ । बिल्टी, सिपिङ बिल र बिमा कागज नहुँदा भन्सारले कुल मूल्यको १० प्रतिशतका दरले गाडी भाडा र २ प्रतिशतका दरले बिमा गरी १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व लिने गर्छ ।

रूपन्देहीका प्रकाशगंगा आलु भण्डारले एम नम्बर (प्रज्ञापनपत्र नम्बर) १३२४३०, ओम विन्दवासिनीले १८४०१, सहनबाज स्टोरले १४७८६३ र १४८६९६, अम्बे इन्टरनेसनलले १४८६८३, प्रकाश आलु भण्डारले १४८५४७ बाट आयात गरेको आलुमा भन्सारले कुल मूल्यमा १२ प्रतिशत जोडी त्यसबराबरको राजस्व लिएको पाइएको छ । सेटिङ मिलाएर काम गर्ने केही आयातकर्तालाई भने कर्मचारीले हचुवाका भरमा राजस्व तोकेको कागजातले देखाएको छ । हचुवाकै भरमा गाडी भाडा र बिमा शुल्क जोड्दा राजस्व स्वतः कम हुन्छ । अधिकांश आयातकर्ताले कागजात बुझाउन खोज्दा कर्मचारीले आवश्यक नरहेको भन्दै १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व लिँदै आएको ती व्यापारी बताउँछन् ।

सेटिङ मिलाउने व्यापारीले भारतीय भन्सार र भैरहवा भन्सारमा पेस गरेका बिललगायत कागजपत्र मेलसमेत नखाने गरेको दाबी स्रोतले गरेको छ । उनीहरूले भारतमा एउटा र भैरहवामा अर्को फर्मको बिल पेस गरेर काम गरिरहेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ०८:४५