७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१३औं सागअन्तर्गत म्याराथन : उपत्यकाका यी क्षेत्रमा आज सवारीसाधन चलाउन पाइने छैन


२१ मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको साइक्लिङ खेल कलंकी-सातदोबाटो खण्डमा हुने भएको छ । आज (शनिबार) चक्रपथको सातदोबाटो-सूर्यविनायक खण्डसँगै काठमाडौंका भित्री क्षेत्रमा समेत सवारी आवागमन रोकिएको छ ।

उसो त आजै ‘फुल म्याराथन’ पनि हुँदै छ । यसले सर्वसाधारणलाई हिँड्डुलमा केही बाधा हुने देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान ७ बजेदेखि सुरु हुने म्याराथन दशरथ रंगशालाबाट सुरु भई टेकु-कालीमाटी – कलंकी – बल्खु – सातदोबाटो – कोटेश्वर – गट्ठाघर – सल्लाघारी – सूर्यविनायक हुँदै पुन सल्लाघारी – कोटेश्वर – नयाँ बानेश्वर – माइतीघर – सिंहदरबार – भद्रकाली – वीर अस्पताल – लैनचौर – नारायणहिटी उत्तर ढोका – नागपोखरी – जयनेपाल – नारायणहिटी दक्षिण गेट – घण्टाघर – भद्रकाली – नागस्थान हुँदै रंगशालासम्म हुनेछ । यिनै क्षेत्रमा सवारी आवागमनमा अवरोध पुग्नेछ ।

महाशाखाका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) भीमप्रसाद ढकालले कलंकीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानो थिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह गरेका छन् ।

ट्राफिक प्रहरीले यी क्षेत्रमा अति नै आवश्यक सवारीसाधनबाहेक अरु सवारीसाधन नचलाईदिन अनुरोध गरेको छ । म्याराथन बिहान ७ देखि ११ बजेसम्म चल्ने भए पनि बेलुका ४ बजेसम्म उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ०८:१४