१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

१३औं साग : खेल्दा-खेल्दै जब पेस्तोलले धोका दियो…


२१ मंसिर, ललितपुर । निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन् । १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिइन् । ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन । बीचबाटै स्पर्धा छाड्नुपर्ने अवस्था आयो । तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन् तर यति बेलासम्म ढिलो भइसकेको थियो । फाइनल चरण पुग्ने अभिलासाका साथ सुरुबाटै अग्रता लिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रवेशको ढोका बन्द भएको खबर नागरिक दैनिकमा छ । अनि उनको मनमा पनि सन्नाटा छायो । खेललाई नै जीवन अर्पण गरेकी श्रेया यसबारे बोल्न चाहिनन् । उनी हतियारबाट धोका पाएपछि खेलस्थलमै छटपटाइरहिन् । अन्य देशका खेलाडी सुट गरिहेका थिए । उनी गहभरि आँसु पारेर उनीहरुको खेल हेरिरहेकी थिइन् ।

वातावरण निकै असहज बनेपछि एक प्रतिनिधिले उनलाई ‘यहाँ विदेशीसामु बेइज्जती नगरौं बरु खेल्न नै छाडौं भनी सम्झाउँदै त्यहाँबाट अन्यत्र लगे । फाइनल स्पर्धामा पुग्ने सम्भावना हुँदाहुँदै हतियारकै कारण उनले खेल छाड्नुपर्‍यो ।

बीचमै हतियारले काम गर्न छाडेपछि बाँकी १४ गोली प्रहार गर्न नपाई समय सकियो । निकै अनुनयपछि मुख्य जुरी इस्लामले श्रेयालाई ३ मिनेट परीक्षणकाल र ७ मिनेटमा बाँकी १४ गोली प्रहार गर्न निर्देशन दिए । तर उनीसँग हतियार भएन । सहभागी अन्य राष्ट्रका खेलाडीले पेस्तोल त दिए तर जुरीले त्यस पेस्तोलको विवरण नपुगेको भन्दै प्रयोग गर्न नपाउने जनाए । यसपछि नेपालकै २५ मिटर र्‍यापिड फायर पेस्तोलमा भिड्ने विपेशले आफ्नो पेस्तोलको विवरण बुझाएपछि जुरीले श्रेयाको समय सुरु गरे । अब श्रेयाले ७ मिनेटमा १४ गोली प्रहार गर्नुपर्ने भयो, त्यो पनि २५ मिटरमा खेल्ने पेस्तोलले १० मिटरमा खेल्नुपर्ने चुनौतीबीच ।

उनले हतारहतार प्रहार गरिन् तर टार्गेटमा लागेन । तनाबबीच लागोस् पनि कसरी । उनी थप अंक ल्याउन असफल भइन् । सोही चरण पार गर्न उनलाई अंक पर्याप्त भएन । ४० गोली हान्दासम्म चौथो स्थानमा भएकी श्रेया अन्तिममा ५ सय ३३ अंकका साथ सातौं स्थानमा रहिन् ।

खेल्दाखेल्दै बीचमा पेस्तोलले धोका दिएपछि टोलाउँदै सुटिङ खेलाडी श्रेया केसी । तस्बरि : नागरिक

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई काम नलाग्ने सेकेन्ड ह्यान्ड सामग्री दिएकाले यस्तो अवस्था आएको आरोप सुटिङ संघले लगाएको छ । श्रेयालाई हतियारले धोका दिएपछि सुटिङ संघका क्रुद्ध एक पदाधिकारीले भने, ‘यसअघि पनि हामीलाई धोका भएको थियो । आज पनि यस्तै भयो । अब यो पेस्तोल प्रतियोगितापछि फालिदिन्छु ।’

जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन् । ती सबैले एउटै इभेन्टमा एकै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । खेललाई नै जीवन समर्पण गरेका खेलाडीको सपना जिम्मेवार निकायको गल्तीले यसरी टुंगिनु दुःखदायी भएको सुटिङ संघका अधिकारीको गुनासो छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ०७:१९