१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

१३औं साग : श्रीमान् प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक!


२१ मंसिर, काठमाडौं श्रीमती निर्णायक, श्रीमान् १३औं सागअन्तर्गत भारोत्तोलनको ८९ केजी तौलसमूहका प्रतिस्पर्धी । यो दुर्लभ संयोग पोखरामा शुक्रबार भारोत्तोलन प्रतियोगितामा देखिएको हो ।

यस्तो दुर्लभ प्रतिस्पर्धामा बंगलादेशका खेलाडीसँग प्रतिस्पर्धामा उत्रिएका थिए, नेपालका ३० वर्षीय विकास थापा । अन्तर्राष्ट्रिय जर्जको मुख्य भूमिकामा थिइन् विकासकै श्रीमती नीति श्रेष्ठ थापा ।

पाकिस्तानका खेलाडीले बिरामी भएर खेल त्यागेपछि थापाले बंगलादेशका खेलाडी मोहमद सकायत हुसेनसँग प्रतिस्पर्धा गरेका थिए । श्रीमान् स्वर्णका लागि प्रतिस्पर्धामा भए पनि आफूले निष्पक्ष रूपमा निर्णायकको भूमिका निर्वाह गरेको नीतिले बताइन् ।

स्वर्ण विजेता थापाले पनि श्रीमतीलाई मुख्य निर्णायककै सम्मान गरेर प्रतिस्पर्धामा उत्रिएको बताए । ‘ऊ अलि भावुक भएकाले आतिन्छ कि भन्ने लागेको थियो’, थापाले भने ‘नीतिले निष्पक्ष निर्णय गरिन् ।’

भारोत्तोलन अभ्यासकै क्रममा भेट भएर ६ वर्षे प्रेमपछि उनीहरूले अन्तरजातीय विवाह गरेका थिए । नीति राष्ट्रिय खेलाडी हुँदै अन्तर्राष्ट्रिय निर्णाय बनेकी हुन् । विकास भने राष्ट्रिय खेलाडीका रूपमा उदाए ।

उनले राष्ट्रिय प्रतिस्पर्धामा धेरै स्वर्ण पनि जिते । १२औं सागमा रजत पदक जितेका थापाले शुक्रबार भने स्वर्ण जिते । श्रीमान्ले स्वर्ण जितेपछि अंकमाल गर्न मन लागे पनि आफ्नो भूमिकाले बाँधेको नीतिले सुनाइन् । पुरस्कार वितरण सकिएसँगै उनले श्रीमानसँग स्वर्णको खुसी साटेको खबर अन्नपूर्ण पोस्टमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ०६:५८