१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चुनावमा झुटो आश्वासन बाँड्नु गलतः अध्यक्ष बिजुक्छे


२० मंसिर, भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११ औँ वार्षिकोत्सव एवं शैक्षिक प्रदर्शनीको आज उद्घाटन गर्दै राजनीतिमा गलत संस्कारको विकास हँुदै गएको बताउनुभएको हो ।

“जनताको राजनीतिक चेतनास्तर खस्किँदै जानु चिन्ताको विषय हो, चुनावको समयमा राजनीतिक शिक्षा बाँड्नुको सट्टा झुटो आश्वासन र पैसाको लोभ देखाएर मतदातालाई झुक्याउने काम गलत हो”, बिजुक्छेले भन्नुभयो । लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीचको कूटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले नेपाली भूमि अतिक्रमणको मुद्दालाई अब नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्नेमा जोड दिनुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेज अनुसन्धान केन्द्रका रुपमा विकास गरी कलेजलाई् विश्वविद्यालयका रुपमा अगाडि बढाउन प्राध्यापकलाई उत्साहित गर्दै आइरहेको बताउनुभयो ।भक्तपुर नगरवासी जनताले तिरेको कर र आन्तरिक स्रोतबाट स्थापना भएको ख्वप इञ्जिनीयरिङ कलेजले देशभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय इञ्जिनीयरिङ शिक्षा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले युवापुस्तालाई देश र विश्वको मानचित्र बुझ्ने ढङ्गले शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको औँल्याउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेपाल इञ्जिनीयरिङ परिषद्का उपाध्यक्ष अर्नराज सिलवाल, इञ्जिनीयरिङ अध्ययन संस्थान, परीक्षा सहायक डिन प्रा डा ज्ञानबहादुर थापा, ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवाललगायतले स्थानीय तहबाट स्थापना भएको देशको पहिलो इञ्जिनीयरिङ कलेजले सस्तोमा इञ्जिनीयरिङ शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

वार्षिकोत्सवकै अवसरमा कलेजले ‘नेशनल ग्राजुएट कन्फरेन्स अन आर्किटेक्चर’ विषयको सम्मेलन गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार २०:४०