१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ढल्केवर सबस्टेसन पुसमा सञ्चालनमा आउने


२० मंसिर, काठमाडौं धनुषामा निर्माणाधीन ४ सय केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन आउने छ । यसका लागि सबै काम करिब अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न यो सब स्टेसन अपरिहार्य मानिँदै आएको छ ।

मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण गर्न र नेपाल-भारतबीचको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण मानिएको यो सबस्टेसन जीआईएस प्रविधियुक्त तथा स्वचालित प्रकृतिको बन्दै छ । सबस्टेसन चार्ज भएपछि नेपाल-भारतबीच करिब हजार मेगावाट विद्युत् आयात तथा निर्यातका लागि पनि पूर्वाधार तयार हुने गोरखापत्र दैनिकमा खबर छ ।

कुल ९४५ केभीए क्षमताका ट्रान्सफर्मर जडित उक्त सबस्टेसनले २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिनेछ । बर्खामा बढी भएको ढल्केबर-मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा आवश्यक परे न्यूनतम ६ सय मेगावाट आयात गर्न र वर्षात्मा बढी हुने विद्युत् भारत पठाएर इनर्जी बैंकिङ गर्नसमेत बाटो खुल्ने बताए ।

सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब रुपैयाँमा निर्माणाधीन ४००-२२० केभीको ढल्केवर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ०७:१८