१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

भ्रमण वर्ष सफल बनाउन राजनीतिक दल प्रतिबद्ध


२० मंसिर, काठमाडौं भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात हुन एक महिना पनि बाँकी छैन । यतिबेला उद्घाटन तयारीका काम पनि हुँदै छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय भ्रमण वर्षको अभियान सफल बनाउन यतिबेला हरेक क्षेत्रबाट समर्थन र सहयोग जुटाउने प्रयत्नमा छ ।

नेपालस्थित विभिन्न ३१ देशका राजदूतसँग बुधबार मात्रै मन्त्रालयमै छलफल भएकोमा बिहीबार देशका प्रमुख राजनीतिक दलका नेता र भ्रातृ सङ्गठनका प्रतिनिधिसँग छलफल भएको खबर गोरखापत्र दैनिकमा छ । छलफलमा सहभागी सबै दलका नेताहरूले भ्रमण वर्ष सरकार वा कुनै एउटा दलको कार्यक्रम नभई साझा राष्ट्रिय स्वार्थ भएकाले अधिकतम सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

भ्रमण वर्षमा एकपटक मात्र नेपाल घुम्न आउने नभई यसलाई बारम्बार नेपाल गइरहने आधारका रूपमा अगाडि बढाउनुपर्ने नेकपाका महासचिव विष्णु पौडेलको सुझाव थियो । भ्रमण वर्ष राष्ट्रिय अभिभारा भएकाले सबै राजनीतिक दल र समाजले त्यही रूपमा ग्रहण गर्नुपर्ने उनको आग्रह थियो ।

उनले भ्रमण वर्ष सफल पार्न मन्त्रालयबाट हुने आग्रहलाई अधिकतम रूपमा सहयोग गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताए । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले नेपालमा विभिन्न समयमा राजनीतिक उतारचढाव भए पनि अब सबैले आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बेला आएको बताए । त्यसका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र भएकाले आवश्यक पूर्वाधार बनाउन मन्त्रालयले बढी ध्यान दिनुपर्ने उनको सुझाव थियो । भ्रमण वर्ष सफल पार्न सबै सिंगो नेपाल एक भएर लाग्नुपर्ने र यसमा आफ्नो दलको सबै किसिमको सहयोग रहने प्रतिबद्धता जनाए ।

‘यो नेकपा अथवा सरकारको मात्र हैन । सारा देशको सफलतासँग जोडिएको भएर हाम्रो आफ्नो दायित्व बुझेर संगठनलाई परिचालन गर्न तयार छौँ,’ उनले भने ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले पहाडमा मात्र सीमित नेपालको पर्यटकीय गतिविधिलाई भ्रमण वर्षले तराईमा पनि विस्तार गरेकामा खुसी व्यक्त गरे । पर्यटकीय पूर्वाधार बनाउँदा यसको सुरक्षाको विषयलाई पनि ध्यान दिन उनको सुझाव थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रोशन कार्कीले धार्मिक पर्यटनलाई पनि समेटेर भ्रमण वर्षको दायरा बढाउनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ०६:४९