६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

एन्टिबायोटिक औषधिभन्दा आयुर्वेद उपचार पद्धति रोज्न पूर्वप्रधानमन्त्री खनालको आग्रह


१९ मंसिर, इलाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वायुर्वेद उपचार पद्धतिमा रोज्न आग्रह गर्नुभएको छ । मेची अञ्चल आयुर्वेद अस्पताल इलाममा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद खनालले सामान्य बिरामी हुँदा महँगा अस्पताल गएर औषधि खाइहाल्ने बानी त्यागेर आफ्नै जडीबुटीमा विश्वास गरेर आयुर्वेद औषधि प्रयोग गर्न सुझाव दिनुभयो ।

एन्टिबायोटिक औषधिको ‘साइड इफेक्ट’ बढी हुने भएकाले जति प्रयोग गरे पनि घरेलु जडीबुटीबाट खराब असर नगर्ने आयुर्वेद औषधि रोज्नुपर्ने उहाँको तर्क थियो । नेपालीको अविश्वासका कारण आयुर्वेद उपचार पद्धति ओझेलमा परेको बताउँदै उहाँले सबै नागरिकलाई आयुर्वेद उपचारमा विश्वास गर्दा दीर्घायु हुन सकिने विश्वास व्यक्त गर्नुभयो । नेता खनालले इलाममा पाइने जडीबुटीको निकासी प्रवद्र्धन र प्रशोधनका लागि पहल गर्नसमेत स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको आयुर्वेद कार्यालयका प्रशासन प्रमुख अम्बीका चौलागार्इंले सबैको प्रदेश सरकारले आयुर्वेदमा लगानी बढाइ रहेको जानकारी दिनुभयो । उहाँले सन् २०३० सम्ममा प्रदेश १ का सबै नागरिकको पहुँचमा आयुर्वेद उपचार पुग्ने गरी काम भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नगरपालिकाले समेत आयुर्वेद क्षेत्रका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले तीनै तहका सरकार मिलेर आयुर्वेद उपचारलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार २१:५०