१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जापान जाने सीप परीक्षामा सबै फेल !


१९ मंसिर, काठमाडौं वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन् ।

प्रतिकात्मक तस्बिर ।

भाषा परीक्षामा भने एकजना पास भएका छन् । भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत हजारजना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५ सय ९ जना छनोटमा ४ सय ९७ जना परीक्षामा सहभागी भएको खबर गोरखापत्र दैनिकमा छ ।

जसमा ५६ जना मात्र उत्तीर्ण भए । उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा एकजना मात्र उत्तीर्ण भए भने सीप परीक्षामा सबै असफल भए ।

जापान र नेपाल सरकारबीच गत चैत ११ गते जापानी नागरिकसरहको सेवा सुविधा दिएर नेपाली श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको थियो । जापानले नेपाल, चीन, इन्डोनेसियालगायत ९ देशका युवा श्रमिकलाई रोजगारको अवसर दिने गरी सुरु गरेको थियो ।

कोरियापछि सुरक्षित र आकर्षण आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ । पहिलो ५ वर्षमा ३ लाख ४५ हजार १ सय ५० श्रमिकलाई जापान लैजाने नीति लिएकामा नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुंगो नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार ०७:०९