१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

२२ उम्मेदवार जसले आफ्नो मत आफैँलाई दिएनन् (नामसहित)


१८ मंसिर, काठमाडौं । निर्वाचनमा कुनै पनि पदको उम्मेदवार हुन समर्थक र प्रस्तावकको समर्थन आवश्यक पर्छ । यसको अर्थ उससँग कम्तीमा ३ मत सुरक्षित छ । फेरि उसका घर परिवार, इष्टमित्र र छिमेकी पनि पक्कै हुन्छन् ।

अचम्म त के भने मंसिर १४ मा सम्पन्न उप-निर्वाचनमा आफ्नो मत आफैँलाई नदिने उम्मेदवार २२ जना भेटिए भने एक मत मात्रै पाउनेको संख्या १० छ । शून्य मत पाउनेमा सबै स्थानीय तहका उम्मेदवार रहेको खबर गोरखापत्र दैनिकमा छ । ती उम्मेदवारहरुमा सिराहको कल्याणपुरका वडाध्यक्षका उम्मेदवार गौरीशंकर यादव, श्यामबाबु दास, सूर्यनारायण राय, हेबु मुखिया, महोत्तरीको बलवा नगरपालिकाको वडा अध्यक्षमा उम्मेदवार भएका सवोध साह, वालवा नगरपालिकाका रामचन्द्र महतो कोइरी, रामवृक्ष सहनी मलाह, सुरेश महतो कोइरी, सोगिन्द्रर महतो छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, महोत्तरीको मटिहानी नगरपालिका थारुक सेक, सहदेव ठठेरी, सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाको वडाध्यक्ष पदका उम्मेदवार मनोजकुमार यादव, मनोजकुमार रायले शून्य मत पाएका छन् ।

यसैगरी, रौतहट गढीमाई नगरपालिका नथुनी पासवान, विनय साह तेली, सकुर मियाँ, हविब राय भाट, बारा जिल्लाको बारागढी नगरपालिका नरेश पासवान, कपिलवस्तु शिवराज नगरपालिकाको वडाध्यक्ष पदका उम्मेदवार नूर मोहम्मद मोनीहार, मोहम्मद रफिक मोनिहार, शिवनारायण कुर्मी, शिव भक्त ठाकुर (नाउ), शिवलाल यादवले पनि आफूलाई आफ्नो मत नदिएको पाइएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की जिल्लाको क्षेत्र २ मा भएको उप-निर्वाचनमा दुई स्वतन्त्र उम्मेदवार ६६ वर्षीय उमनाथ गौतम र यज्ञप्रसाद पंगेनीलेले एक-एक मत पाए । यस्तै, अन्य ७ उम्मेदवारले ४ देखि ११ मतसम्म मत पाएका छन् ।

यस क्षेत्रमा १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए । कुनै पनि स्वतन्त्र उम्मेदवारले सय मत पाउन सकेनन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार ०७:३०