१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

गण्डकी प्रदेश र तिब्बतबीच सुमधुर सम्बन्ध रहेको छः मुख्यमन्त्री गुरुङ


१७ मंसिर, पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनको विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । गण्डकी प्रदेशको आमन्त्रणमा दुई दिनको पोखरा भ्रमणमा आउनुभएका चीनको स्वायत्त प्रान्त तिब्बतका जनसरकार प्रमुख क्विझाराको सम्मानमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपाल र चीन सरकारका साथै दुई देशका जनताबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेश र तिब्बतको भौगोलिक सिमानामा मुस्ताङ, मनाङ र गोर्खाको सिमाना जोडिनुका साथै संस्कृति पनि समान रहेको बताउनुभयो । दुवै देश शान्तिका साथै समानता र आपसी सम्बन्धमा विश्वास गर्ने गरेको उल्लेख गर्दै उहाँले जनसरकार प्रमुख क्विझाराको पोखरा भ्रमणबाट सम्बन्ध थप उचाइमा पुगेको बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पोखरा भ्रमणमा आउनु भएका चीनका स्वायत्त प्रान्त तिब्वतका चेयरमेन क्विजहालालाई शान्तिको प्रतिक बुद्ध मुर्ती प्रदान गर्दै । तस्वीरः हरि बास्तोला

चीनका राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणको प्रसङ्ग उल्लेख गर्दै दुवै मुलुक एकापसमा साझेदारीमार्पmत विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास प्रकट गर्नुभयो । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको यसै वर्ष चीनको ल्हासाको मैत्रीपूर्ण भ्रमणको माध्यमबाट दुवै देशको सम्बन्ध झन् प्रगाढ भएको उहाँले बताउनुभयो ।

चीनको सहयोगमा पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेको जानकारी गराउँदै मुख्यमन्त्री गुरुङले नेपालको सडक विस्तार, विमानस्थल, जलविद्युत् परियोजनालगायतका योजनाहरुमा सहयोग जारी रहने विश्वास प्रकट गर्नुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई साकार पार्न चीन सरकारको सहयोग आवश्यक रहेकाले लगानीका लागि आह्वान गर्नुभयो ।

सो अवसरमा तिब्बतका जनसरकार प्रमुख क्विझाराले नेपालको आर्थिक र सामाजिक विकासमा चीन सरकारको सहयोग रहिरहने बताउनुभयो । उहाँले जलविद्युत्, सडकलगायत विभिन्न योजनाका साथै निर्माण भइरहेको योजनामा पनि सहयोगका लागि चीन सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । तिब्बत र नेपालको पहाडी क्षेत्रमा समानता, संस्कृति र रीतिरिवाज एकनासको रहेको बताउँदै उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन तिब्बतले पनि अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । दुईदिने पोखरा भ्रमणमा आएको सो भ्रमण टोलीमा सात सदस्य रहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार २१:४९