६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

१० महिनामा ३० हजार नेपालीले गरे चीन भ्रमण


१७ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंसिर अन्तिम साता चीन भ्रमणमा जाने आफ्नो पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् । प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार यही विषयमा छलफल गरेपछि सोमबार दाहालले पूर्वानिर्धारित कार्यतालिका संशोधन गरेका हुन् ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेकपाको उच्चस्तरीय टोली तत्काल चीन भ्रमणमा जाने समझदारी भएको थियो । त्यही समझदारीअनुसार दाहाल चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीकै चाहनामा चीन जान लागेका थिए ।

दाहालको भ्रमण केही महिनाका लागि स्थगित भए पनि नेकपासहित दलका नेता र सरकारी अधिकारीहरू चीन जाने र चिनियाँ अधिकारीहरू नेपाल आउने क्रम भने निकै बढेको खबर कान्तिपुर दैनिकमा छ । यो वर्षभरिमा केन्द्रीय समितिका सबै ४ सय ४५ जनालाई नै चीन पठाएर त्यहाँको विकास, विचार र समाजवादबारे अध्ययन-अवलोकन गराउने नेकपा विदेश विभागको तयारी छ ।

पछिल्ला वर्ष चीनसँगका सरकारी र गैरसरकारी तवरका दुईपक्षीय भ्रमण र नेपाली नागरिकसमेतको चीन आवतजावत निकै बढेको छ । चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोङका अनुसार गत जनवरीदेखि नोभेम्बर अन्त्यसम्म १० महिनामा ३० हजार ९ सय ३६ नेपालीले चीन जाने भिसाका लागि आवेदन दिएका थिए । यस्तो संख्या दुवैतर्फबाट बर्सेनि बढिरहेको छ ।

अहिले पनि तिब्बतका गभर्नरको टोली नेपाल भ्रमणमा छ भने गत साता फुदान युनिभर्सिटी, युनान र हुवेई प्रान्तका अधिकारी नेपाल आएर फर्किएका छन् । नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल असोज ३० गते चीन पुगेर फर्किए । सैन्य खेलकुद प्रतियोगिताका लागि गएका पोखरेलले ६ दिने बसाइका क्रममा विभिन्न राजनीतिक भेटघाट गरे ।

नेकपा स्कुल विभागका उपप्रमुखद्वय वेदुराम भुसाल र देवेन्द्र पौडेलसहितको टोली असोज २८ गते चीन पुगेर फर्कियो । करिब एक साता चीन बसेको उक्त टोलीले चीनको गरिबी निवारण, सी विचारधारालगायत विषयमा अध्ययन गर्‍यो । यही समयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि टोलीसहित चीनमै अध्ययन भ्रमणमा थिए । केन्द्रीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिको छुट्टाछुट्टै टोलीले चीनको लगातार भ्रमण गरिरहेको छ ।

कतिपय जाने पालो कुरेर बसेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच असोज ७ गते भएको समझदारीमा सम्बन्ध विस्तारका लागि आपसी भ्रमण बढाउने सहमति भएको थियो । समझदारीमा भ्रमण आदानप्रदान गराउने, वैचारिक र राजनीतिक छलफल बढाउने, दुवै कम्युनिस्ट पार्टीका सिद्धान्तबारे जानकारी गराउनेलगायत विषय थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०८:१३