१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पृथ्वीनारायणको सालिक सिंहदरबारअगाडि नराखिएको भए…


१७ मंसिर, काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, ‘चन्द्रागिरिमा राख्ने ।’ पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ल्याएर सिंहदरबारको मूल ढोका अघिल्तिर ठड्याइयो ।

पृथ्वी जयन्ती मूल समारोह समितिको कार्यालय थियो- घण्टाघरतर्फको त्रिचन्द्र कलेजमा । समितिका पदाधिकारीमा मुख्य चौतरिया फत्तेजंग पराक्रम शाह, फिल्ड मार्सल केशरशमशेर जबरा, सर्दार नरेन्द्रमणि आदि, साहित्यकार बालकृष्ण समलगायत थिए ।

६ दशकअघि समितिको त्यो बैठकको स्मरण गर्दै इन्जिनियर शंकरनाथ रिमालले भने, “पृथ्वीनारायणको सालिक राख्ने निर्णय भयो । मलाई सालिक राख्नका लागि स्मारकको डिजाइन गर्न जिम्मा दिइयो ।” सालिकको डिजाइन गर्ने जिम्मा बालकृष्ण समले पाए भने निर्माण गर्ने जिम्मेवारी कलाकार अमर चित्रकारलाई दिइएको खबर गोरखापत्र दैनिकमा छ ।

इन्जिनियर रिमालले सुरुमा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट उपत्यका देखेको र चन्द्रागिरिमा स्मारक राख्दा हिमाल, पहाड र तराई देख्न सकिने सोचले चन्द्रागिरिमा निर्माण गर्न स्मारकको नमुना तयार गरे ।

त्यस स्थानलाई चन्द्रजस्तो आकार भएको पहाड (गिरि) भएकाले परम्परादेखि नै चन्द्रागिरि भनिँदै आएको थियो । स्मारक निर्माण गरी सालिक राखिएको भए त्यो बेला नै चन्द्रागिरिलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको हुन्थ्यो । हाल चन्द्रागिरि हिल्सले भालेश्वरनजिक पृथ्वीनारायणको सालिक राखेको छ ।

औँलाको मुद्रा
बालकृष्ण समको निर्देशनमा बनेको सालिकमा पृथ्वीनारायण शाहको औँला अवगुण्ठन मुद्रालाई जनाउँछ । शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली कलाका रूपरेखा पुस्तकमा यसरी उल्लेख गरेका छन्, “मूर्तिकारद्वारा यस प्रतिमामा आगम शास्त्रीय लक्षणअनुसार राष्ट्रिय एकता राष्ट्रलक्ष्मी सुरक्षित होस् भन्ने भावनामा जुन अवगुण्ठन मुद्रा प्रदर्शन गराइएको छ, त्यसको साङ्केतिक लक्षण हो– देश सबैको साझा हो । देश बेगर हामी कसैले हामी भन्न पाउने छैनौँ ।”

इन्जिनियर शंकरनाथ रिमालले भने पृथ्वीनारायण शाहले आफूतर्फ उठाएको औँलाले अवगुण्ठन मुद्रा नजनाउने दाबी गरे । “औँलाको मुख आफूतर्फ उठाउनु अवगुण्ठन मुद्रा हुँदैन”, उनले भने । वाल्मीकि क्याम्पसमा योग विषय अध्यापन गर्दै आएका डा. हरिप्रसाद पोखरेलले पृथ्वीनारायण शाहले ठड्याएको औँलाको मुद्रा अवगुण्ठन नभएको बताउँदै अवगुण्ठन मुद्रामा दुवै हात जोड्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०७:३६