७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोप-प्रत्यारोप


१७ मंसिर, काठमाडौं । विभिन्न कारणले रिक्त ३७ जिल्लाको ५२ पदमा उप-निर्वाचन सम्पन्न भएको छ । त्यसको परिणाम पनि सार्वजनिक भइसकेको छ ।

प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा पूर्वको ‘लालकिल्ला’ भनेर चिनिने सुनसरीको धरान महानगरपालिका प्रमुखमा प्रतिपक्षी नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सोचेजस्तो मत नल्याएपछि ६० वर्षको विरासत गुमाउनु परेको छ । कम्युनिस्ट पार्टीको गढको रूपमा रहेको धरानमा कांग्रेस उम्मेदवार विजयी भएपछि सबैले आश्चर्य मानेको खबर राजधानी दैनिकमा छ ।

नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै कांग्रेसका तिलक राईले ऐतिहासिक जित दर्ता गरे । कांग्रेसका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत ल्याए । ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो । उपनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका तिलक २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग पराजित थिए ।

२०१५ सालमा भएको संसदीय र स्थानीय निर्वाचनमा देशैभरी कांग्रेस उम्मेदवार विजयी भएको थियो । संसद्मा दुईतिहाइ र स्थानीय तहमा समेत कांग्रेसकै उम्मेदवार विजयी भएको थियो । तर, त्यस्तो बेलामा समेत धरानमा वामपन्थी उम्मेदवार केदारप्रसाद खनाल निर्वाचित भएका थिए ।

२०४६ को जनआन्दोलन र २०४८ मा भएको निर्वाचनमा मात्रै नभई त्यसयताको सबै निर्वाचनमा धरानमा वामपन्थी उम्मेदवार नै विजयी हुँदै आएका थिए । वामपन्थीको प्रभाव रहेकै कारण सुनसरी १ बाट पार्टी अध्यक्षसमेत रहेका नेता मनमोहन अधिकारीले चुनाव जितेका थिए । गृहनगर विराटनगर भए पनि वामपन्थी प्रभावकै कारण अधिकारले यो क्षेत्र रोजेका थिए । सो क्षेत्रबाट वामपन्थीबाहेकका अन्य उम्मेदवार कहिल्यै नजितेको नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले बताए ।

६ दशकको लामो वामपन्थी विरासत कांग्रेसले भत्काएपछि अहिले नेकपामा आन्तरिक समीक्षा हुनुपर्ने भन्दै आरोपप्रत्यारोप सुरु भएको छ । नेकपा प्रदेश १ का सदस्य तथा सांसद रेवतीरमण भण्डारीले पार्टी एकीकरणपश्चात् नेताकार्यकर्ताको उचित व्यवस्थापन नभएको, नेतृत्वको दम्भ तथा अहंकारले ६० वर्षदेखिको ‘लालकिल्ला’ भत्किएको बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०७:१६