१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

जब धान बेच्न पालो कुरिन्छ…


१६ मंसिर, नेपालगन्ज ।  सरकारले धान खरिदमा बजारमा चलेकोभन्दा बढी मूल्य निर्धारण गरेपछि किसानको लाइन लाग्न थालेको छ । बढी मूल्य पाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित अञ्चल कार्यालयमा किसान अहिले धान बेच्न पालो कुरेर बस्न थालेका छन् ।

बजारभन्दा प्रतिक्विन्टल ३ सय रुपैयाँ बढी मूल्यमा खाद्यले धान खरिद गर्न थालेको हुँदा किसानको भीड पनि बढेको हो । धान बोकेर गोरुगाडा, ट्याक्टरसहित धान बेच्ने किसान धेरै कार्यालयमा पुगेकाले व्यवस्थापन मिलाउनै समस्या भएको खाद्यका अञ्चल प्रमुख भरतराज खनियाँले बताए । उनका अनुसार मंसिर १० गते आएका ट्याक्टरको धान खरिद गर्ने पालो आइतबार मात्रै आएको छ । ‘अझै सयौं किसानले पालो कुरिरहेका छन्,’ उनले भने ।

खाद्यले ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर कात्तिक २७ गतेयता आइतबारसम्म १३ हजार क्विन्टल धान खरिद गरिसकेको गोरखापत्र दैनिकमा खबर छ । कार्यालयमा अहिले चारवटा काँटामार्फत दैनिक ८ देखि ९ सय क्विन्टल धान खरिद भइरहेको छ ।

चिसोमा धेरै दिन कुरेर बस्न समस्या भएको जनाउँदै बाँकेको होलियाबाट धान बेच्न आएका राजन मौर्यले छिटो-छिटो खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । यस वर्ष बाँके र बर्दियाका लागि मोटा धान प्रतिक्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँमा खरिद गर्न मूल्य निर्धारण गरिएको छ ।

तर बजारमा भने व्यवसायीले मोटा धान प्रतिक्विन्टल २ हजार २ सय रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ३ सय रुपैयाँमा खरिद गरिरहेका छन् ।

गतवर्षको भन्दा यस वर्षको मूल्य प्रतिक्विन्टल ३ सय रुपैयाँ बढी निर्धारण गरिएको खाद्य व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०७:१३