१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कार्यसम्पादन झुर हुनेको पहिलो नम्बरमा पर्यटनमन्त्री योगेश भट्टराई, कस्को कार्यसम्पादन कस्तो ?


१५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा प्रभावकारिता ल्याउन भनेर मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे । उनले कार्यसम्पादन सम्झौता गर्नुअघि पनि एउटा एप्स बनाएर उनको सचिवालयले मन्त्रीहरूको मूल्यांकन गराउँदै फलानो पास र ढिस्कानो फेल भन्दै सञ्चारमाध्यममा एकोहोरो समाचार लेखाइरहेको थियो । त्यही बीचमा मन्त्रिपरिषद् हेरफेरको विषय उत्कर्षमा पुग्यो पनि तर भएन ।

मन्त्रीपरिषद्को फाइल तस्बीर ।

प्रधानमन्त्री ओली आफूले चाहेका थिएनन भन्ने उनको त्यस बेलाको सार्वजनिक अभिव्यक्तिले नै पुष्टि गर्छ । यद्यपी जनतासँग प्रधानमन्त्री भन्ने कार्यक्रममा रिपोर्ट बजाउन भनेजति पैसा नदिने केही मन्त्री हटाउने तयारी भन्दै केही सञ्चारमाध्यममा समाचारहरू बाहिरएपछि धेरै सञ्चारमाध्यमले त्यही हावाको पछि बहने कोशिश गरे तर वास्तविकता फरक रहेको ओलीको कार्यशैलीले बताउँछ । लगत्तै प्रधानमन्त्रीले सबै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे ।

मन्त्रीहरूसँग कार्यसम्पादनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको बैठक ।

त्यही कार्यसम्पादन सम्झौताको आधारमा मूल्यांकन गर्ने उनले सगर्व घोषणा पनि गरे तर मन्त्रीहरूको मूल्यांकन विचौलिया र गुटको प्रभावमा हुनुपुग्यो । त्यसपछि विभिन्न कोणबाट विभिन्न सञ्चारमाध्यमहरूमा समाचारहरू निरन्तर रूपमा लेखाइए । फलानो मन्त्रीको कार्यसम्पादन कमजोर र हट्ने भन्दै यद्यपी ती सबै झुटा सावित भयो । हाल प्रधानमन्त्री कार्यालयले नै प्राप्त गरेको चौमासिक प्रगति विवरणमा ओलीले जसलाइ अयोग्य करार गर्न खोजे तीनै मन्त्रीहरूको कार्यसम्मादन ज्यादै राम्रो देखिएको छ ।

कार्यसम्पादन झुर भनेर हटाइएका लालबाबुको मन्त्रालय बढी काम गर्नेमा २ नम्बरमा रहेको छ भने गोकर्ण विष्टको मन्त्रालय सात नम्बरमा रहेको छ । पहिलो नम्बरमा गृह मन्त्रालय रहेको छ भने तेस्रो नम्बरमा रक्षा मन्त्रालय रहेको छ । त्यस्तै कार्यसम्पादनमा सबैभन्दा कमजोर अर्थात झुरमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइ परेका छन । उनी अन्तिममा पुगेका छन । गृहमन्त्रालयको ९४ प्रतिशत, सामान्य प्रशासन मन्त्रालयको ८५ प्रतिशत, रक्षा मन्त्रालय ८५ प्रतिशत, श्रम मन्त्रालयले ७० प्रतिशत कार्यसम्पादन गर्दा पर्यटन मन्त्रालयले मुस्किलले १० प्रतिशत कार्यसम्पादन गरेको छ ।

कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइ ।

कार्यसम्पादनको रिपोर्ट कार्ड शीर्षक दिएर नयाँपत्रिकाले आइतबार समाचार प्रकाशित गरेको छ । यसअघि कान्तिपुरले सबै मन्त्रालयका काम अधुरै भन्दै कार्यसम्पादनको मौलिक नम्बर प्रदान गरेर समाचार प्रकाशित गरेको थियो । हुनत कान्तिपुरले शुक्रबारको आफ्नो समाचार खण्डन हुने गरी शनिबार श्रम मन्त्रालयको कार्यसम्पादनका बारेमा सुधारात्मक समाचार प्रकाशित गरेको थियो । कान्तिपुरमा विनु सुवेदीले समाचार लेखेकी थिइन भने नयाँ पत्रिकामा जनार्दन बरालले समाचार लेखेका छन ।

मन्त्रीहरूको कार्यसम्पादनबारे नयाँपत्रिकामा आइतबार जनार्दन बरालले लेखेको समाचार ।
मन्त्रीहरूको कार्यसम्पादनबारे कान्तिपुरमा विनु सुवेदीले शुक्रबार लेखेको समाचार ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार १३:०८