१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुँदैनन्ः मन्त्री ढकाल


१४ मंसिर, भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित नहुने बताउनुभएको छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणपछि आयोजित छलफलमा उहाँले हरेक बिरामीलाई राज्य मेरो अभिभावक हो भन्ने प्रत्याभूति दिलाउने गरी काम गर्ने उल्लेख गर्नुभयो ।

प्रारम्भिक चरणमा मन्त्रालयको काम र अस्पतालको अवस्थाबारे जानकारी लिइरहेको मन्त्री ढकालले बताउनुभयो । उहाँले औषधि किन्न नपर्ने गरी राज्यको तर्फबाट सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो । “विदेश भ्रमणका नाममा राज्यको स्रोत दोहन भएको छ”, उहाँले भन्नुभयो, “अब यस्तो प्रवृत्ति दोहोरिँदैन् ।” अनावश्यक कुरामा राज्यलाई खर्चको भार बोकाउने परिपाटीको अन्त्य गरिने मन्त्री ढकालको भनाइ थियो ।

अनावश्यक सेवा सुविधा कटौती गरी नागरिकलाई निःशुल्क औषधि दिनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री ढकालले उल्लेख गर्नुभयो । उहाँलदे अबदेखि स्वास्थ्य क्षेत्रमा पद रिक्त नहुने बताउनुभयो । “अब पद रिक्त हुँदैनन्, समय भने लाग्छ, हिजोका गल्ती दोहोरिनु हुँदैन्”, उहाँले भन्नुभयो । चिकित्सक अस्पतालभित्र र निजामती कर्मचारी मन्त्रालय आउँदा आस्थाका आधारमा सेवालाई बिटुल्याउन नहुने उहाँको तर्क थियो । प्रारम्भिक चरणमा देशका सबै अस्पतालको अवस्था बुझ्ने र त्यसपछि दु्रतरुपमा काम गर्ने मन्त्री ढकालले प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार २०:२९