Logo

घरको आयु कति ? कसरी बन्छ सुरक्षित घर ?



-लक्ष्मण डङ्गोल

नेपालमा बनेका परम्परागत घर, मठमन्दिरहरू त्यसबेलाका उच्चतम प्रविधि मानिन्छन् । यद्यपि, त्यस्ता घरहरू आधुनिक प्रविधि भित्रिएसँगै ओझेलमा पर्दै गएका छन् । प्राचीनकालमा विकास भएकोे प्रविधि आजसम्म जीवन्त राख्नु मुलुककै गौरवको विषय हो भन्छन् विज्ञहरू । स्थानीय स्रोत–साधनको प्रयोगले बनेका त्यस्ता घरहरू आजको प्राविधिक युगमा महँगो नलागे पनि त्यसको महत्व बढ्दै गएको छ । त्यस्ता घरहरूले मुलुकको पहिचान र धरोधर धानेकोमात्रै होइन, देशबाट रकम बाहिरिनबाट जोगिएकोमा विज्ञहरू खुलेरै प्रशंसा गर्छन् ।

आजकल त्यस्ता प्राचीन प्रविधिमा आधारित घरको वैज्ञानिक आधार खोजिँदै छ । कतिपय वैज्ञानिक अनुसन्धानबाट ती घरहरू ९० प्रतिशत वैज्ञानिक तथ्यमा आधारित छन् भन्ने विभिन्न वैज्ञानिक लेखोटमा प्रकाशन गरेको पाइन्छ । विज्ञहरू भन्छन्, ‘परम्परागत घरहरू विज्ञानसम्मत छन् तर सबै घरहरू भने होइनन् ।’ उनीहरूका अनुसार परम्परागत रूपमा बनेका मठमन्दिर, देवालय र पार्टीपौवाका बनावट वैज्ञानिक छन् । समयमा मर्मत नहुँदा भूकम्पमा बेला भत्केका हुन् । यदि त्यस्ता घरहरू प्रत्येक दस वर्षको हाराहारीमा मर्मत गरिएमा त्यसको आयु पनि पक्की घरसरह नै हुन्छन् । यद्यपि, समयमा मर्मत नगर्दा भूकम्पीय जोखिमबाट मुक्त भने छैनन् ।

परम्परागत घरहरू सलाईको बट्टा आकारको बनाउनुपर्नेे मान्यता छ । त्यसकै आधारमा घरको लम्बाइ र चौडाइको अनुपात क्रमशः ३ः१ हुनुपर्दछ । पछिल्लो वैज्ञानिक अनुसन्धानका आधार पनि त्यही हाराहारीमा भएको कुुरा औँल्याउँछन्, इन्टरडिसिपिलेनरी रिसर्च इन्स्टिच्युट फर सस्टनेवलटीका अनुसन्धानकर्ताका संरचना इन्जिनियर दीपेन्द्र गौतम ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वैज्ञानिक ‘रिभ्यु जर्नल’हरूमा ५० भन्दा बढी लेख प्रकाशन गरिसक्नुभएका गौतम भन्नुहुन्छ, ‘परम्परगत घरमा मर्मत–सम्भारको बढी जरुरत पर्दछ । मर्मत गर्न सके बढीमा ३५ वर्ष प्रयोग गर्न सकिन्छ । यद्यपि, नेपालमा मर्मत–सम्भारविना पुस्ताैँ बिताउने गरिन्छ । यसले के देखाउँछ भने हाम्रो सोचमा परिवर्तन हुन सकेको छैन । स्स्परम्परागत नेवाः (नेवारी) घरको अवस्थाबारे अनुसन्धानको क्रममा गौतमले भक्तपुरको सुकुलढोकामा सन् १९३४ मा बनेको घर ठूला भूकम्पपछि सुरक्षित पाइएको बताउनुभयो । त्यस्तै लमजुङको बाहुनडाँडामा दुई सय पचास वर्षअगाडिको गोलघर पनि उहाँले अध्ययन गर्नुभयो । ती घरहरूको अध्ययन गरेपछि बुझाइ फरक प¥यो । गौतम भन्नुहुन्छ, ‘गोल्घरलाई दुई सय पचास वर्ष अवधिको भनिए पनि सन् १९३४ यताबाट हिसाब गर्दा मात्रै झन्डै शताब्दी पुग्छ ।’

गौतमका अनुसार हाम्रा परम्परागत घरहरूको मुख्य विशेषता भनेको ‘बेस आइसोलेसन’ अर्थात् जमिनबाट अलिक माथिसम्म जग उठाएका हुन्छन् । त्यसले भूकम्पीय समयमा जमिनको सतहमा हलचल कम गर्नेछ । परम्परागतमा गारोहरू चाक्ला हुन्छन् । तला थपिँदै जाँदा गाराको चाक्लो कम हुँदै जान्छ । माथि तल्लाहरूमा लोड कम गर्दै लैजाने गरिन्छ । अहिलेको आधुनिक प्रविधिमा तला थपेसँगै लोड कम गर्ने चलन छ, गौतम भन्नुहुन्छ ।

मठमन्दिरहरूमा समय–समयमा मर्मत हुने हँुदा त्यो तोकिएको आयुसम्म टिकेको देखिन्छ । जीर्णोद्धारका कारण बलिया छन् । तर, मानिस बस्ने घरमा मर्मत भएका पाइँदैन,’ अनुसन्धानले त्यसै भन्छ । विज्ञहरू भन्छन्, ‘मठमन्दिर बनाउने प्रविधि घरमा अनुशरण गरिएको हो । यदि त्यस्ता प्रविधिमा आधारित घर बनाउने हो भने त्यो टिकाउ हुनेछ । ‘त्यो प्रविधिले आधुनिक घरसरह काम गर्नेछ,’ गौतम भन्नुहुन्छ, ‘आरसी बिल्डिङको आयु पचास वर्ष मानिन्छ । तर, घर कस्तो तरिका बनाएको छ वा प्रयोग गरेको छ भन्नेमा भर पर्नेछ ।’ सिमेन्टको वा जुनसुकै कङ्क्रिटले बनेका घरहरू ७० वर्षपछि घर भत्काउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

सङ्कटासन्नता अध्ययन
घरको आयु र भूकम्पीय जोखिमका बेला हुने क्षतिको अनुमान गर्न सङ्कटासन्नता अध्ययन गरिन्छ । सरकारी कम चासोका कारण यस्ता अनुसन्धान मुलुकमा कम हुने गरेको छ । नेपालमा अधिकांश घरहरू स्थानीय स्रोत–साधनले बनेका छन् । कममात्र घरहरू पक्की छन् ।

संरचना जोखिम
नेपालमा जहाँ पायो, त्यही घर बनाउने गरेको पाइन्छ । जमिनको अध्ययन विना घरहरू निर्माणले निम्त्याउने क्षति पनि बढी हुन्छ । त्यसैले कत्रो भूकम्पले कस्ताखाले घरमा क्षति हुन्छ भनेर सङ्कटासन्नता विश्लेषण गरिन्छ । ‘मध्यपहाडमा बनेका ढुङ्गाका घरहरू बढी जोखिममा छन् । त्यसको दाँजोमा उपत्यका घरमा ठूला समस्या छैनन् भन्ने होइनन् । तर, विगतमा समस्या भएका स्थानमा मर्मत नहुँदा भत्किएको थियो,’ गौतम थप्नुहुन्छ ।

ठूला भूकम्पपछिको अध्ययनमा परम्परागत घरको मुख्य समस्या भनेको तल (जग) र घरको माथिल्लो भाग राम्रो भएर पनि जोर्नीमा समस्या भएकाले ‘कनेक्सन टुटेको’ थियो । गौतमका अनुसार अनुसन्धानका आधारमा प्राचीन घरमा माथिका तलाअनुसार घरको जगमुनिको भागलाई पनि त्यति नै मजबुत बनाउने गरिन्थ्यो । त्यो अहिलेसम्म पनि कायम छ ।

‘छानाहरू बााहिर निस्केका हुन्थे । तर, त्यसलाई गुरुत्वार्कषणले असर गर्दछ भन्ने बुझेर त्यसलाई भित्री भागसँग जोडेको पाइन्छ । विभिन्न ठाउँमा नस कसिन्थ्यो,’ गौतम भन्नुहुन्छ, ‘उपल्लो डोल्पामा पाँच ठाउँमा नस कसेको पाइन्छन् । झ्यालढोका बक्साजस्तो हुन्थ्यो । त्यसलाई ढोकामाथिको भार धान्न बनाइन्थ्यो ।

‘कर्नर पोस्ट राखेको पाइन्थ्यो । त्यसले दुईवटा भित्तालाई जोडन मद्दत गर्दथ्यो । यसले के देखाउँछ भने परम्परागत रैथाने घरहरू विज्ञानसङ्गत थियो तर चाहिनेजति थिएन ।’ पछिल्ला अनुसन्धानलाई आधार मान्ने हो भने यदि भूकम्पले जमिन गुरुत्व प्रवेग ०.५ गुणा बढ्यो (०.५ जी हल्लियो) भने ४० प्रतिशत परम्परागत घरहरू भत्कन्छन् । गौतम भन्नुहुन्छ, ‘आधुनिक घरहरू सुधारिएका मात्र हुन, भूकम्प प्रतिरोधी होइनन् । पक्की घरले ठूला भूकम्प धान्छन् भन्ने ‘ग्यारेन्टी’ छैन । तर, सरकार भने सुरक्षित लेख्दै हिँडेको छ । त्यो गलत छ ।’

लागत फरक
परम्परागत घर बनाउँदाभन्दा कङ्क्रिट घर बनाउँदा सस्तो पर्दछ । त्यसमा प्रयोग गरिने सामग्रीहरू एकैपटक ठूलो परिमाणमा उत्पादन हुने हुँदा सस्तो परेको हो । तर, परम्परागत नेवारी घरको संरक्षण अभियन्ता रवीन्द्र पुरी लागतमा खासै फरक नपर्ने बताउनुहुन्छ । उहाँका अनुसार प्रतिवर्ग मिटर चार हजारमा परम्परागत नेवाः छेँ (घर) बनाउन सकिन्छ । परम्परागत नेवारी घरहरू छेली, मटाङ, चोता र बुइगः गरी चार तलाका हुन्छन् । तर, सरकारले पछिल्लो समय बुझ्दै नबुझी कानुन ल्याएर तीन तलामा झारेको उहाँको तर्क छ ।

‘भक्तपुरको न्यातपोल बनेको तीन सय वर्ष पुगिसकेको छ । त्यस्तै काभ्रेको इन्द्रेश्वर महादेव मन्दिर आठ सय वर्ष भइसकेको छ । अब हामीले बनाउने भनेको त्यस्तै प्रविधिका घरहरू हुन । जुन भूकम्प प्रतिरोधी हुन्छन्,’ पुरी भन्नुहुन्छ, ‘चार तला हटाउने होइन निर्माण गर्दा त्यसको गारो र मोटाइ कति हुने कुरा समावेश हुनुपर्दछ । तर, त्यसरी खुलाएको छैन ।’ पुरी थप्नुहुन्छ, ‘जाडोमा त्यति जाडो नहुने र गर्मीमा त्यति गर्मी नहुने परम्परागत घर युरोपसम्म फैलिएको छ । यसले मौलिकता जोगाइराख्न मद्दत गरको छ । यो हाम्रो आफ्नै मौलिक प्रविधि हो भन्छन् ।’ उनको विचारसँग सहमति राख्नुहुन्छ, इन्जिनियर गौतम । ‘परम्परागत घरहरू वातावरणीय अनुकूल हुन्छन् । र, वातानुकूलन राख्नै पर्दैन । फ्यान चलाइराख्न पर्दैन । प्रयोग भएका सामग्री पुनः प्रयोग गर्न सकिन्छ, ।’

सरकार अनभिज्ञ
‘भवनसंहिता नियामक निकायलाई कस्ताखाले घर जोखिमयुक्त छन् भन्ने थाहा हुनुपर्दछ । यस्ता घरमा सम्भावित प्राकृतिक विपत्हरू के–के हुन सक्छन् भन्ने निक्र्यौल गर्नुपर्दछ । यस्ता सम्भावित विपत् व्यवस्थापनका लागि अवलम्बन गर्नुपर्ने सुरक्षाका मानक तयार गर्नुपर्दछ । कतिपय विपत् स्थानिक प्रकृतिका हुन्छन् । जस्तै हेटौँडा र पाटनमा विपत्को प्रकृति र जोखिम फरक हुन्छ, त्यसैले हेटौँडा र पाटनमा बनाउने संरचना फरक हुनपर्ने भन्नुहुन्छ गौतम । तर, सरकार यसबारे अनभिज्ञ रहेको गौतम बताउनुहुन्छ । २०७२ सालको भूकम्पको बेला ‘आरसी बिल्डिङ’ भत्किएको थियो, तर छेउमै रहेको पुराना भवन भत्किएको थिएन । यसकारण भवनको शक्ति कति हो, त्यो कुरा थाहा हुनुपर्नेमा गौतम जोड दिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘नेपालमा आरसी बिल्डिङलाई मात्र पक्की मानिन्छ । तर, त्यस्तो होइनन् । परम्परागत घरलाई पनि सुरक्षित बनाउन सकिन्छ । ‘आरसी बिल्डिङ’ निर्माणको बेला राम्रोसँग बनाउन सकेन भने त्यो झन् जोखिम हुन्छ । निम्नस्तरको आरसी घरभन्दा निम्नस्तरको परम्परागत घर राम्रो मानिन्छ ।’ भवन निर्माणसंहिता बहुआयामिक बनाउनुपर्दछ । नेपालमा अहिलेसम्म सन् १९९४ को बिल्डिङ कोडलाई पछ्याइएको छ । पछिल्लो अनुसन्धानबाट आएको नतिजाका आधारमा नियम बनाउनुपर्दछ ।

पाठ्यक्रममा समस्या
आधुनिक घर बनाउनका लागि पाठ्यक्रम विकास गरिएको छ । तर, परम्परागत घर निर्माण प्रविधिको थप विकास गर्न भने चुकेको छ । गौतम भन्नुहुन्छ, ‘सिभिल इन्जिनियरिङ पढाइमा भवनसम्बन्धी करिब एक सय ५० क्रेडिट आवरको कक्षामा जम्मा ‘एउटामात्र कक्षा’ परम्परागत घरको अध्ययन हुने गरेको छ । यसकारण जनशक्ति पनि औँलामा गन्न सकिनेछन् । विश्वविद्यालय १० प्रतिशतलाई केन्द्रित गरेर अध्यापन गराउने गरेका छन् । पाठ्यक्रमसमेतमा समस्या छन् ।

अनुसन्धानमा समस्या
नेपालमा प्रयोगशालाको समस्या छन् । प्रयोगशाला भएका संस्थामा पनि प्रयोग गर्न नदिने अनुसन्धानकर्ताको आरोप छ । यदि कुनै विदेशी संस्थाले अनुदानमा दिएका अनुसन्धान उपकरण स्वदेश भित्राउन झन्झटिलो छ । अनुसन्धानको पहिलो खुड्किलो यही रोकिन्छ । गौतम भन्नुहुन्छ, ‘मुलुकमा स्रोत–साधन नभएका होइनन् । खानी तथा भूगर्भ विभागसँग भूकम्पीय तथ्याङ्क उपलब्ध गर्न माग गर्दा उपलब्ध गराउँदैनन् । नेपाल सरकारको प्रयोगशाला छ । त्यो प्रयोग गर्न पाइँदैन । सडक विभागमा ल्याब छन्, त्यसलाई प्रयोग गर्न दिँदैनन् ।’

इन्जिनियर गौतमको अध्ययनले पुराना नेवारी घरमा १० प्रतिशत समस्या औँल्याइएको छ । घरको जोडहरूमा समस्या छन् । घर कति वर्षसम्म प्रयोग गर्ने भन्ने कुरा छन् । आफ्नो घरलाई कति वर्षमा मर्मत गर्ने भन्ने कुरा छुटेको छ । त्यसलाई योजनाबद्ध ढङ्गबाट काम गर्न सकियो भने राम्रो हुने देखिन्छ । त्योसँगै, परम्परागत घरलाई पनि आधुनिक घर जसरी बलियो बनाउने भन्ने किसिमका संरचना निर्माण गर्नेखालका अनुसन्धान भएमा त्यो पनि बलिया हुन्छन् भन्ने जनमानसमा विश्वासको खडेरी छ ।

सुझाव कार्यान्वयन
कुनै पनि स्थानमा बस्ती बसाउनपूर्व त्यस क्षेत्रको भौगोलिक तथा भूबनावटका आधारको नक्साङ्कन गर्न अनुसन्धान गर्नुपर्दछ । त्यो काठमाडौँ उपत्यकामै अहिलेसम्म पूर्ण हुन सकेका छैनन् । खानी तथा भूगर्भ विभाग यस कार्यमा लागिरहेको छ । त्यसरी अनुसन्धान दिएको नतिजाका आधारमा काम अगाडि बढाउनुपर्दछ । विदेशमा त्यसरी काम गर्ने गरेको त्रि–चन्द बहुमुखी क्याम्पस भूगर्भ विभागका प्रा.डा. तारानिधि भट्टराई बताउनुहुन्छ ।

इन्जिनियर गौतम सरकारले अहिले निर्माण भइरहेका संरचनालाई रोकेर, कस्तो मोडलमा जाने तय गरेपछि निर्माण गर्नुपर्नेमा जोड दिनुहुन्छ । त्यसका लागि ‘बिल्डिङ कोड’ लागू गर्नुपर्दछ । त्यसपछि मात्र दिगो विकासलाई सहयोग हुनेखालका भवन बनाउन सकिन्छ,’ गौतम भन्नुहुन्छ । भवनको आयु विश्लेषण गरी म्याद सकेका घरहरू भत्काउनुपर्दछ । त्यसलाई कति वर्षमा रेक्ट्रोफिट गर्ने र अर्को रूपमा प्रयोग गर्ने भन्ने कुरा तय गर्नुपर्दछ । भवन भत्काइसकेपछि त्यसबाट निस्केका सामग्रीलाई पुनः प्रयोग कसरी गर्ने र भवन बनाउन कुन निकायले निमार्णमा सहयोग गर्ने भन्ने कुरा हुनुपर्दछ । त्यस्ता योजना बनाएर सुरक्षित घर निर्माण गर्न सकिन्छ । (लेखक नेपाल विज्ञान पत्रकार मञ्चका अध्यक्ष हुनुहुन्छ ।)

सम्पादकको अुनमतिमा गोरखापत्र दैनिकबाट साभार 

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार १०:३८
प्रतिक्रिया दिनुहोस्