१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

त्रिचन्द्र क्याम्पस घाटामा : ऋणमा डुब्न थालेपछि ११० प्रतिशत शुल्क वृद्धि


१३ मंसिर, काठमाडौं देशकै पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस ९ करोड रुपैयाँ घाटामा गएपछि क्याम्पस प्रशासनले शिक्षण शुल्क ११० प्रतिशतले बढाएको छ । क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ ।

त्रिचन्द्रले विज्ञान र मानविकी संकायतर्फको शिक्षण शुल्क बढाएको जनाएको खबर राजधानी दैनिकले प्रकाशन गरेको छ। विज्ञान र मानविकी संकायमा बढी आर्थिक भार बढेपछि विद्यार्थीलाई जानकारी गराएरै शुल्क बढाइएको सहायक क्याम्पस प्रमुख जनक ढुंगानाले जानकारी दिए ।

उनका अनुसार गत वर्ष क्याम्पसले १ करोड ६४ लाख रुपैयाँ घाटा बेहोरेको छ । लामो समयदेखि शुल्क समायोजन नहुँदा विद्यार्थीबाट उठेको अधिकांश रकम करारका शिक्षकको तलबमा खर्च भएपछि शुल्क वृद्धि गरिएको ढुंगानाले बताए ।

ढुंगानाले भने, ‘स्थायी शिक्षक टीयूबाट नियुक्त नै हुँदैनन् । अनि, यहाँका स्थायी शिक्षकले अवकाश पाएपछि करारका शिक्षकलाई तलब खुवाउनुपर्‍यो । शुल्क समायोजन नभएको पनि धेरै समय भएकाले बढेको हो ।’ हाल त्रिचन्द्र क्याम्पसमा १४ हजार विद्याथी अध्ययनरत् छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ०७:४४