१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकार र निजी मेडिकल कलेजबीच दुईबुँदे सहमति : शुल्क फिर्ता गर्न मेडिकल कलेज प्रतिबद्ध


११ मंसिर, काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुईबुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा मंगलबार राति बसेको दुईपक्षीय बैठकले सहमति गरेको हो ।

सहमतिअनुसार मेडिकल कजेजले आज (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ ।

त्यस्तै दुईपक्षीय सहमतिमा ०७२/७३ र ०७३/७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ । मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता गर्न नसक्ने अडान दोहोर्‍याएपछि मंगलबार दिउँसो गृह मन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयको यस्तो निर्णयपछि निजी मेडिकल कलेजका सञ्चालकहरु दबाबमा परेका थिए ।

सहमतिपत्रमा शिक्षा मन्त्रालयका अधिकारी तथा मेडिकल कलेजका सञ्चालकहरूले हस्ताक्षर गरेका छन् । सरकारले दुईपटकसम्म अल्टिमेटम दिँदा पनि विद्यार्थीबाट गैरकानुनी रूपमा असुलेको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूले अटेरी गरेका थिए । सरकारी निर्देशन नमानेको भन्दै अतिरिक्त शुल्क उठाउने मेडिकल कलेजलाई बुधबारदेखि ठगीअन्तर्गत पक्राउ गर्ने निर्णय गृह मन्त्रालयले गरेको थियो ।

त्यसपछि शिक्षामन्त्री पोखरेलले कलेज सञ्चालकका प्रतिनिधिसँग मंगलबार राति अबेरसम्म छलफल गरेका थिए । शिक्षामन्त्री पोखरेलले पक्राउ गर्ने निर्णयमा सरकार अडिग रहेको बताएपछि मेडिकल कलेज सञ्चालकहरू शुल्क फिर्ता गर्न सहमत भएका हुन् ।

मेडिकल कलेजहरूले विद्यार्थीबाट नियमितबाहेक २४ शीर्षकमा अतिरिक्त शुल्क उठाइरहेको राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले औंल्याएको छ । भर्ना, दर्ता, सम्बन्धन, संस्थागत, सामुदायिक शुल्क, प्रयोगशाला, कर, मेडिकल शुल्क, विद्यार्थी कार्यक्रम, अतिरिक्त क्रियाकलाप, शिक्षक शुल्क तथा विविध शीर्षकमा शुल्क उठाइएको छ। विभिन्न शीर्षकमा शुल्क असुल्न थालेपछि विद्यार्थी आन्दोलित भएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०७:०१