८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

४.९ प्रतिशतले रेमिट्यान्स घट्यो


६ मंसिर, काठमाडौं । चालु आवको प्रथम ३ महिना (साउन-असोज) मा रेमिट्यान्स घटेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको उल्लेख छ ।

गत वर्ष रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत वृद्धि भएको थियो । मुलुकको अर्थतन्त्र चलाएमान बनाउने मूल इन्जिन मानिएको रेमिट्यान्स अब बढ्ने सम्भावना कम भएको व्यवसायी बताउँछन् ।

‘यसअघि दसैंमा २५-३० प्रतिशत बढ्ने गरेको थियो,’ नेपाल विप्रेषक संघका अध्यक्ष एवं आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल भन्छन्, ‘यो वर्ष त दसैं आएको र गएको नै थाहा भएन ।’ उनले यसरी चार्डपर्वको मौसममा पनि रेमिट्यान्स घट्नुको कारण खोजिरहेको बताए । ‘सबै वातावरण सकारात्मक हुँदासमेत रेमिट्यान्स घटेको छ । यसले अब रेमिट्यान्स उत्कर्षमा पुगेर घट्न थालेको संकेत गरेको छ,’ उनी भन्छन् ।

भन्सारमा कडाइ गर्नेदेखि सम्पत्ति शुद्धीकरणमा चनाखो भएको सरकारले अनौपचारिक अर्थतन्त्र खुम्च्याउन सफल भएको व्यवसायीहरुले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । यस्तो अवस्थामा पनि रेमिट्यान्स घट्नुले विदेशमा नेपालीको आम्दानी घटेको र विदेश जानेको संख्या नै कम हुँदाको असर देखिएको पोखरेल बताउँछन् । राष्ट्र बैंकले पनि गत वर्ष विदेश श्रम स्वीकृति लिनेको संख्या झन्डै ३५ प्रतिशत घटेको तथ्यांक सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार ०७:१५