१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव


५ मंसिर, काठमाडौं । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ । द्रुतमार्गमा पाइपलाइन बिछ्याउन गरिएको सम्भाव्यता अध्ययनले सम्भव देखिएको हो ।

नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउन गरिएको सम्भाव्यता अध्ययन पूरा भएको जानकारी दिए । उनका अनुसार अध्ययनले निर्माणाधीन द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ । अमलेखगन्जसम्म आइपुगेको पाइपलाइनलाई पथलैयाबाट निजगढ नजिक रहेको द्रुतमार्ग हुँदै काठमाडौँ ल्याउने योजना छ ।

उनले भने, “द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यलाई अध्ययनले सम्भव देखाएको छ । अबको दुई साताभित्र अध्ययनको विस्तृत प्रतिवेदन कन्सल्ट्यान्सीले नेपाल आयल निगमलाई बुझाउनेछ ।” अध्ययन प्रतिवेदनले आयोजनाको सम्भाव्यता र चुनौती देखाउनुका साथै आयोजनाको लागत, पेट्रोलियम पदार्थ ढुवानीमा आयोजनाबाट निगमलाई हुनसक्ने बचतलगायतको विषयमा जानकारी प्राप्त हुने प्रबन्धक रेग्मीलाई उद्धृत गर्दै गोरखापत्र दैनिकले खबर प्रकाशन गरेको छ । पुल्चोक इन्जिनियरिङ अध्ययन क्याम्पसअन्तर्गतको ‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’ले सम्भाव्यता अध्ययन गरेको हो ।

सांकेतिक तस्बिर ।

यसअघि काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीद्वारा तयार डीपीआर र एसियाली विकास बैंक (एडीबी) द्वारा गरिएको अध्ययनमा समेत दु्रतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव रहेको उल्लेख गरिएको थियो ।

अहिलेसम्मको अध्ययनले भौगोलिक बनोटका कारण द्रुतमार्गमा रक्सौलबाट अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने जस्तो सहज हुन नसक्ने उनले बताए । द्रुतमार्गमा ‘हाइराइज ब्रिज’ र सुरुङमार्ग निर्माण हुने भएकाले पुल र सुरुङमार्ग हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाका लागि नै नयाँ प्रयोग हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार ०७:५९