१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बिचाैलियाको रुपमा चर्चित न्याैपानेलाई तारागाउँको अध्यक्ष बनाउने पर्यटनमन्त्री भट्टराईको निर्णय


४ मंसिर, काठमाडौँ । नियुक्तिदेखि नै अनेक काण्ड र विवादमा पर्दै आएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले बिचौलियाको रुपमा चर्चित प्रल्हाद न्यौपानेलाई तारा गाउँविकास समितिको अध्यक्ष पदमा नियुक्ति दिएका छन । मन्त्रिपरिषद् पुनर्गठनको हल्ला उत्कर्षमा पुगिरहेको समयमा उनले मंगलबार कार्यालय समय सकिने समयमा छापामार शैलीमा तारागाउँ विकास समितिको अध्यक्षमा प्रल्हाद न्यौपानेलाई नियुक्त दिएको मन्त्रालयका कर्मचारीले बताएका छन ।

टिप्पणी उठाउने सम्बन्धित अधिकारी नभएको समयमा नै उनले न्यौपानेलाई नियुक्ति दिएका हुन । सरकारको नाममा ल्याउनुपर्ने १ सय ५० रोपनी जग्गा ल्याउन नदिन भूमिका खेल्ने शर्तमा हायात होटलको सेटिङमा न्यौपाने नियुक्तिमा परेको मन्त्रालयका एक उपसचिवले दैनिकीलाइ जानकारी दिए । संसदीय समितिले उक्त जग्गा सरकारका नाममा ल्याउन निर्देशन दिइसकेको छ । तर नेकपाले कहिले आफ्नै पार्टीका केन्द्रीय सदस्यलाइ हायतमा लगेर जागिर खुवाउने त कहिले हायतसँग कमिसन खाएर तारा गाउँ विकास समितिमा पदाधिकारी नियुक्ति गर्दै कमाउ अड्डाको रूपमा उपयोग गर्दै आएको छ । यसअघि दुइ पटकसम्म नेकपा नेता जितबहादुर दर्जी गौतमले हायतको सल्लाहकारको रूपमा जागिर खाइसकेका छन ।

बिचौलियाको रुपमा चर्चित न्यौपानेलाई पर्यटन मन्त्री भट्टराईले मंगलबार हतार हतार तारागाउँको अध्यक्ष बनाएका हुन् । हयात रिजेन्सी होटलले तारागाउँ विकास समितिको १ सय ५० रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गरेको बिषयमा संसदीय समितिले छानबिन गरी सरकारका नाममा ल्याउन निर्देशन दिएको थियो । हयातका संचालक दिनेशलाल श्रेष्ठ, सुरेशलाल श्रेष्ठ र भारतीय लगानीकर्ता अरुण सर्राफले उक्त जग्गा सरकारका नाममा ल्याउन आलटाल गर्दै पर्यटनमन्त्रीहरूलाइ प्रभावित पार्दै आएका छन ।

पोखरी मासेर बनेको ठमेलको छायाँ सेन्टरमा समेत मन्त्री भट्टराईको संलग्नाताको विवाद नसुल्झदैँ बिचौलियाका रूपमा चर्चित न्यौपानेलाई त्यो पनि छापामार शैलीमा नियुक्त गरेपछि मन्त्रालया कर्मचारीले मन्त्रीको निर्णय माथि अधिक शंकाको नजर तेर्साएका छन । हयातका सेक्युरिटी चिफ पूर्वएसपी गोविन्दराम परियार र नेकपा झापाका नेता जितबहादुर दर्जी गौतमको मध्यस्तामा मन्त्रीले नियुक्ति दिएको स्रोतले जनाएको छ ।

न्यौपाने नेपाल प्रहरीका भगौडा असई हुन् । उनी द्वन्दकालमा प्रहरीको असईबाट जागिर छाडेका हुन् । प्रहरीबाट जागिर छाडेका उनी २०६४ मा एमाले नेता वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि उनको निकट हुन पुगे । र, प्रहरीका सरुवा बढुवाका बिचौलिया बन्न पुगे । वामदेव दोस्रोपटक २०७० मा गृहमन्त्री हुँदा पनि उनी गृहमन्त्रालयका सरुवा बढुवादेखि नियुक्तिमा हावी भए । मंगलबार नियुक्तिका लागि टिप्पणी उठाउने सहसचिव नहुँदा नहुँदै उपसचिवलाई टिप्पणी उठाउन लगाएर काम गरिएको हो । न्यौपानेको नियुक्तिको विषयमा मन्त्रीको सचिवालयका एक कर्मचारीलाइ जिज्ञासा गर्दा उनले माथिको आदेशमा हतारहतार निर्णय गरिएको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति दोष देखाउने कोशिश गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार २०:४२