८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छः मुख्यमन्त्री पोखरेल


४ मंसिर, रुकुमपूर्व । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैँ नागरिकको हकहितको पक्षमा रहेको छ भन्नुभयो । मौलिक कला, परम्परा र संस्कृतिले भरिएको रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकास्थित तकसेरामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रदेशलाई सम्पन्न बनाउनको लागि प्रदेश सरकारले व्यवस्थित योजना बनाएर अगाडि बढिरहेको जानकारी गराउनुभयो । प्रदेश सरकारले पनि कृषिलाई नै पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको बेलामा रुकुम पूर्वको उत्पादनले बजार नपाएको खण्डमा बजारसम्म पु¥याउन अनुदानकोे लागि प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ । सङ्घीयता कार्यान्वयनपछिको ७७औँ जिल्लाकोरुपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकामको टुङ्गो लागि नसकेको अवस्थामा उहाँले यस विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले जे फैसला गर्छ त्यो जनताले स्वीकार्नुपर्ने धारणा राख्नुभयो ।

उत्तरगङ्गा नदी डाईभर्सनको बारेमा पनि बोल्दै उहाँले रुक्मेली जनताको सहमतिबिना उक्त आयोजनाको काम अगाडि बढ्न नसक्ने बताउनुभयो । उत्तरगङ्गा डाईभर्सनको कुरा छलफलमै भएको हुँदा रुकुम पूर्वको हितलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने उहाँको भनाइ छ । यसै क्रममा उहाँले पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरामा निर्माण गरिएको सभाहलकोसमेत उद्घाटन गर्नुभयो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार १५:३०