७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बेल्जियमको अपराजित यात्रा, ६-१ ले साइप्रस स्तब्ध


४ मंसिर, काठमाडौं । सन् २०२० को युरोकपमा स्थान बनाइसकेको बेल्जियमले समूह चरणको अन्तिम खेलमा साइप्रसमाथि ६-१ को जित हात पारेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बेल्जियमले साइप्रसमाथि गोलको वर्षा लगाएको हो ।

बेल्जियमको जितमा क्रिस्टियन बेन्टेकेले १६औँ र ६८औँ तथा केभिन डी ब्रुयनले ३६औँ र ४१औँ मिनेटमा समान २ गोल गरे ।

यानिक कारास्कोले ४४औँ मिनेटमा १ गोल गरेका थिए । यस्तै बेल्जियमले १ गोल आत्मघाती उपहार पाएको थियो ।

साइप्रसका निकोलस नोलयले १४औँ मिनेटमा गरेको गोल नै उसको चित्त बुझाइ बन्यो । युरोकप छनोटको समूह ‘आई’ मा रहेको बेल्जियमले शतप्रतिशत जित निकाल्दै छनोट यात्रा तय गरेको हो ।

जितसँगै बेल्जियमले १० खेलबाट ३० अंक बनाएको छ । यस समूहबाट उपविजेता बन्दै रुसले पनि युरोकपमा स्थान बनाएको छ ।

यस्तै अर्को खेलमा रुसले सान मारिनोलाई ५-० गोलले पन्छाउँदै अघि बढेको छ । योसँगै १० खेलबाट रुसले २४ अंक बटुलेको छ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०९:२५