११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेपाल-भारत सीमा सुरक्षा बैठक पोखरामा : कालापानी विवादबारे छलफलै नहुने


४ मंसिर, काठमाडौं । नेपाल-भारत सीमा विवाद चर्किरहेका बेला दुवै देशको सीमा सुरक्षा समन्वय बैठक पोखरामा सुरु हुँदै छ । नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का प्रमुखसहित दुवै देशका सुरक्षा अधिकारी बैठकमा सहभागी हुँदै छन् ।

सीमा सुरक्षाबारे नियमति बैठक भएकाले यसमा अहिले चर्किएको कालापानीको नक्सा विवादबारे कुनै छलफल नहुने गृह मन्त्रालय स्रोतले जनाएको छ । आजदेखि सुरु हुने बैठक पर्सि (शुक्रबार) सम्म चल्ने छ । बैठकमा भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर सार्वजनिक गरेको विवादित राजनीतिक नक्साबारे कुनै छलफल हुनेछैन ।

दोबिल्लामा रहेको माउन्टग्लोरी रिसोर्टमा हुने बैठकमा नेपालबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट एसएसबीका महानिर्देशक कुमारराजेश चन्द्रा सहभागी हुँदै छन् । भारतबाट चन्द्रसहितको ५ सदस्यीय टोली हिजै पोखरा आइपुगेको छ ।

बैठकमा नेपालका तर्फबाट पेस गर्ने एजेन्डा तयार पारेर सशस्त्र प्रहरी प्रमुख खनालले गृह मन्त्रालयमा पेस गरेका थिए । उक्त प्रस्ताव केही परिमार्जन गर्दै गृहले परराष्ट्र मन्त्रालयमा बुझाइसकेको छ ।

२०७५ साउन २३ र २४ गते भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो  । त्यसअघि २०६९ र २०७२ मा भारत र नेपालले क्रमश: पहिलो र दोस्रो बैठक आयोजना गरेका थिए । दिल्लीमा सम्पन्न तेस्रो बैठकले समन्वय बैठक वर्षको एकपटक, सीमा सुरक्षा गण तहमा २ पटक र बोर्डर अब्जर्भर पोस्ट (बिओपी) तहमा हरेक महिना बैठक बस्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०८:४८