७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, सबै कार्यक्रम रद्द गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन


४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई जानकारीसमेत गराएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी दिएका थिए । उनले जोसुकै पनि मन्त्रीबाट हट्न सक्ने भन्दै सबै मन्त्रीलाई सार्वजनिक कार्यक्रम रद्द (क्यान्सिल) गर्न निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद्को पुनर्गठन गराउने बिचौलिया र भारतवादीहरूको १७ महिनाको हल्लापछि प्रधानमन्त्रीले यस्तो निर्णय लिएका हुन् । उनले ५ देखि १० मन्त्री हटाउने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन अघि नेकपाको सचिवालय बैठक पनि बोलाएका छन् । आज बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटरमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले हटाउने र नियुक्त गर्ने मन्त्रीहरूको सूची दिने सम्भावना छ ।

सोही बैठकमा कार्यकारी अध्यक्षका लागि रन्थनिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विषयमा समेत केही महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । ७ सदस्यीय नेकपाको सचिवालय भए पनि आजको बैठकमा ५ जनामात्र उपस्थित हुनेछन् । एकजना सदस्य एवं उपप्रधानन्त्री ईश्वर पोखरेल दुबई र अर्का सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणमा छन् । तसर्थ बैठकमा पोखरेल र खनाल अनुपस्थित हुने पक्का छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०७:१८