१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

विकास र समृद्धिका लागि ढकाललाई अर्थमन्त्री बनाउँछौँ : नेता सापकोटा


३ मंसिर, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री अग्नि सापकोटाले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न आगामी उपनिर्वाचनमा नेकपाको उम्मेदवारहरु निर्वाचित हुनुपर्ने बताउनुभएको छ । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क)मा हुने उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज नेकपाले छालिङमा आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले चाँगुनारायण प्रदेशबाट ढकाललाई निर्वाचित गरे प्रदेश नं ३ को अर्थमन्त्री बनाउन पहल गर्ने बताउनुभयो ।

उहाँले आर्थिक क्षेत्रका जानकार ढकालले भक्तपुरको विकासका लागि दत्तचित्त भएर लाग्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सङ्घीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँग समन्वय गरेर विकासका लागि धेरै बजेट ल्याएर काम गर्न पनि नेकपाको उम्मेदवार निर्वाचित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा उम्मेदवार ढकालले आफू निर्वाचित भए चाँगु क्षेत्रको विकासका लागि प्रदेशबाट ठूलो राशिको बजेट ल्याएर विकास र समृद्धिको काम सफल पार्ने बताउनुभयो । घरदैलोमा चाँगुनारायण नगरपालिकाको छालिङका गाउँगाउँमा पुगेर भोट मागेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार १९:१८