१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जापानी राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण


 ३ मङ्सिर,म्याग्दी । म्याग्दी मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासको सहयोगमा भौगोलिकरुपमा विकट र दुर्गम गाउँमा सुविधा सम्पन्न भवन निर्माण भएको हो । दूतावासको रु ९१ लाख ६१ हजार सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक पोष्टबहादुर विश्वकर्माले जानकारी दिनुभयो । विसं २०७२ को भूकम्पका कारण पुरानो भवन जीर्ण बनेको थियो । “नयाँ भवन बनेपछि पठनपाठनमा धेरै सहज भएको छ”, प्रअ विश्वकर्माले भन्नुभयो “यस्तो विकट गाउँमा पनि पक्की भवन बनेकामा धेरै खुशी र उत्साहित भएका छाैँ।

गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनको समन्वयमा दूतावासले सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष उमेश पुनले बताउनुभयो । राजदूतावासको सहयोगका अलावा स्थानीयवासीले रु नौ लाख बराबरको श्रमदान गरेका थिए । भूकम्प प्रतिरोधी क्षमताको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ । यसअघि पुरानो जीर्ण भवनमा बसेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । पर्खाल चिरा परेको, पानी चुहिने र भूईं हिलो हुने समस्या थियो । नयाँ पक्की भवन निर्माण भएपछि सुरक्षित अनुभव भएको कक्षा ८ की छात्रा ईशा घर्तीले बताउनुभयो । विसं २०४२ मा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुने गरेको छ । विद्यालयमा २०२ विद्यार्थी रहेका शिक्षक तुलबहादुर पुनले बताउनुभयो ।

दुई जना दरबन्दी, तीन जना राहत र तीन जना निजी स्रोतका शिक्षक छन् । निजी शिक्षकको तलबभत्ताका लागि बेली र जेम गाउँका बासिन्दाले प्रतिघर रु एक हजार चन्दा सहयोग गर्दै आएका छन् । दुई वर्षअघि कच्ची सडक पुगेको जेम गाउँ म्याग्दीको दुर्गम बस्ती मानिन्छ । नवनिर्मित भवनको सोमबार जापानी राजदूतावासका प्रतिनिधि यासुकी स्याण्डोले उद्घाटन गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवाल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र वडाध्यक्ष नरबहादुर पुनले भवनले विद्यालयको पठनपाठनमा सुधार गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार १३:२२