१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

रौतहट बम काण्डका नाइके आलमलाई नख्खु कारागार ल्याइयो


३० कात्तिक, काठमाडौं । रौतहट बम काण्डका नाइके तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई नख्खु कारागार ल्याइएको छ । रौतहटमा राख्न सुरक्षा जोखिम बढ्ने भन्दै आलमलाई रातारात ललितपुरमा रहेको नख्खु कारागारमा सारिएको हो ।

प्रहरी उच्च स्रोतका अनुसार आलमलाई शनिबार बिहान साढे ४ बजेतिर नख्खु कारागार  पुर्‍याइएको छ । उनलाई शुक्रबार राति नै इलाका प्रहरी कार्यालदय चन्द्रनिगाहपुरको टोलीले कडा सुरक्षाबीच हस्तान्तरण गरेको थियो ।

जिल्ला अदालत रौतहटले आलमलाई थुनामा राख्न शुक्रबार आदेश दिएको थियो । बादीको तर्फबाट १४ वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए । प्रतिवादी आलमका तर्फबाट २८  कानुन व्यवसायीले उनको बचाऊको पक्षमा बहस गरेका थिए ।

सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा आलमविरुद्ध मुदा दायर भएको छ । सर्वोच्चले २०६९ जेठ १६ गते आलमलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिए पनि उनी बच्दै आएका थिए ।

पछिल्लोपटक पीडितहरुले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेलगत्तै सर्वोच्चले के कारणले पक्राउ नगरेको भन्दै पत्र लेखेपछि प्रहरीले उनलाई असोज २६ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार ०९:१५