८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बालुवाटार जग्गा हिनामिना प्रकरण : कांग्रेस नेता गच्छदारसँग अख्तियारको ४ घण्टा बयान


३० कात्तिक, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धानलाई जारी राखेको छ । यसै क्रममा तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ । गच्छदार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शक्तिशाली नेता पनि हुन् ।

अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक (शुक्रबार) साँझ गच्छदारसँग ४ घण्टा लामो बयान लिएका हुन् । अख्तियारले साँझ ५ बजेदेखि ९ बजेसम्म गच्छदारसँग लामो बयान लिएको राजधानी दैनिकमा खबर छ ।

बयानका क्रममा गच्छदारले मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले यस प्रकरणमा आफ्नो कुनै भूमिका नभएको भन्दै बचाउको प्रयास गरेका थिए ।

‘प्रशासनिक तहबाट निर्णय भएर आएकाले मैले निर्णयमा हस्ताक्षर गरी मन्त्रिपरिषद्मा पठाएको हुँ । यसमा मेरो कुनै दोष छैन,’ गच्छदारको भनाइ उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो । प्रमुख विपक्षी कांग्रेसका उपसभापतिसमेत रहेका गच्छदारलाई बयान नलिन अख्तियारमाथि नै उच्च दबाब पर्दै आएको थियो । तर, दबाबका बाबजुद अख्तियारले गच्छदारसँग बयान लिएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार ०८:००