११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेकपाप्रति रामबजारबासीको आशा, विद्यामा भरोसा


२९ कात्तिक, पोखरा । पोखरा रामबजारबासीले नेकपाप्रति आफूहरुको आशा नटुटेको बताएका छन् । चुनावी घरदैलोका क्रममा पोखरा रामबजार पुगेकी विद्या भट्टराईलाई रामबजारबासी जनताले नेकपाप्रति आफूहरुको आशा कायम रहेको बताउँदै भोट दिने बाचा गरेका हुन् । साथै उनीहरुले स्वर्गिय रबिन्द्र पत्नी विद्या भट्टराई अधिकारीप्रति भरोसासमेत व्यक्त गरे । भोट माग्दै पुगेकी विद्यालाई स्थानिय समाजसेवीसमेत रहेका भूतपूर्व सैनिक लालकाजी गुरुङले भने,‘हाम्रो आशा र भरोसा भनेकै नेकपा हो, सरकारले राम्रो काम गरेको छ, अझ राम्रो गरोस्, हाम्रो आशा अझै नेकपामै छ ।

’ रबिन्द्रको झल्को विद्यामा देखेको भन्दै उनले भने,‘रवीन्द्रप्रति हाम्रो सम्मान थियो, रवीन्द्रले नै पोखराको विकास र समृद्धी गर्नुहुन्छ भन्ने थियो, अब उहाँ रहनु भएन, उहाँकै झल्को दिनेगरी तपाईं आउनु भएको छ, हाम्रो भरोसा अब विद्याजीमा छ ।’ कांग्रेसले भूपू सैनिकको कुरा सुन्दै नसुनेको भन्दै उनले भने,‘तर रवीन्द्रजीले कुरा सुनेर हाम्रो समस्या बुझ्नुपनि भएको थियो, एकपटक उहाँले संसदमा भूपू सैनिकको कुरा राख्नुपनि भएकै हो, तर कालले छिट्टै लग्यो र त्यो अधुरै रह्यो, अब त्यो हाम्रो समस्या विद्याले गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

 


त्यस्तै स्थानिय ९३ वर्षिया बृद्धा पून्यकुमारी गुरुङले जनताको पार्टी नेकपा भएको बताइन् । हामीलाई बृद्धभत्ता दिने नेकपा नै हो,‘खै कांग्रेसले सबैभन्दा धेरै सरकार चलायो भन्छन्, तर हामीले कहिल्यै केहि पाएनौं, तर नेकपाले त हरेक महिना ३ हजार दिन्छ, हाम्रो त पार्टी भनेकै नेकपा नैत हो ।’ सो अवसरमा उम्मेद्वार विद्याले बृद्धा गुरुङबाट आशिर्वादसमेत लिएकी थिइन् ।

घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा बोल्दै नेकपाकी उम्मेद्वार विद्याले भूपू सैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टी नेकपाले लिने बताइन् । उनले भनिन्,‘हिजो रवीन्द्रजीले तपाईंहरुको समस्या समाधान गर्ने जिम्मा लिनुभयो, अब उहाँले थालेको समस्या समाधानको जिम्मा म र हाम्रो पार्टी नेकपाले लिन्छ ।’ उनले रवीन्द्रको अभाव पोखरेली जनतालाई हुन नदिने बाचा गरिन् ।

उम्मेद्वार विद्याले जनतालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक गाउँपालिकासँग पोखरा जोड्ने लिंक रोड बनाउनका लागि आफूले नेतृत्व लिने बताइन् । उनले जितेर गाउँ नफर्किने पुरानो प्रचलन तोडेर अब आफू बारम्बार जनताको घरदैलोमा आउने प्रतिबद्धता व्यक्त गरिन् ।

कोणसभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य चुडामणी जंगलीले ‘समृद्ध पोखरा, सुखी पोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताए । कांग्रेसले सरकारको बारेमा भ्रम सिर्जना गरिरहेको आरोप लगाउँदै उनले विकास र समृद्धीको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको बताए । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङ मार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइपलाइन बिस्तारलगायतका कार्यहरु उदाहरण भएको उनको भनाई थियो । रामबजार भमरकोट पार्टी प्यालेसबाट शुरु भएको नेकपाको चुनावी घरदैलो पेन्सनक्याम्पहुँदै नयागाउँलगायतका क्षेत्रमा भइरहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १३:१३