१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बंगलादेशी राष्ट्रपति हमिदको आजको ‘सेड्युल’ : चन्द्रागिरि र पाटन घुमेर अपराह्न ५ बजे स्वदेश फर्किने


२९ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपचारिक भ्रमणमा छन् । नेपाल आएको उनको आज चौथो दिन हो । यसको मतलब बंगलादेशी राष्ट्रपति आजै स्वदेश फर्किने सेड्युल छ ।

हिजो पोखरा भ्रमण गरी त्यहाँको दृयावलोकन गरी फर्किएका हमिद आज पनि आफ्नो घुमघामलाई निरन्तरता दिने भएका छन् । उनी आज स्वदेश फर्किनुअघि चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकनका लागि जाने कार्यक्रम मिलाइएको छ ।

बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर पुगेर राष्ट्रपति अपराह्न ५ बजे स्वदेश फिर्ता हुने कार्यतालिका छ ।

सद्भावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर चाख मानेर अवलोकन गरेका थिए ।

बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका उनी बिहीबार भने पोखरा घुम्न गए । पोखरामा उनले फेवातालमा डुंगा सयर गरे भने रुपाकोट रिसोर्टबाट प्राकृतिक सुन्दरता अवलोकन गरेका थिए ।

मंगलबार नेपाल आएका बंगलादेशी राष्ट्रपति हमिदलाई उनका समकक्षी नेपाली राष्ट्रपति विद्या भण्डारीले स्वागत गरेकी थिइन् भने आज बिदाइमा पनि भण्डारी स्वयं उपस्थित हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०८:२०