Logo

सीमा विवादबारे चिनियाँ प्रतिक्रियाः नेपालकाे भौगोलिक अखण्डताको चीनले सधैँ सम्मान गर्छ



२८ कात्तिक, काठमाडौँ । नेपालको सीमा विवादबारे अनेक बहस भैरहेको समयमा उत्तरी छिमेकी राष्ट्र चीनले पनि प्रतिक्रिया दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी नेपालकाे भौगोलिक अखण्डताको चीनले सधैँ सम्मान गर्ने जनाएको छ । केही दिनअघि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले प्रतिक्रिया जनाउँदै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न चीन सधैँ तत्पर रहेको उल्लेख गरेको छ ।

चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिमा कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्ने उल्लेख गरेको छ ।उसले कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्ने सदिच्छा व्यक्त गरेको छ । दूतावासले केही मिडियाहरुले चीनप्रति लगाएको आरोपप्रति दुःख समेत व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘ केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं । यस्ता आरोप आधारहीन छन्। उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ।’ विज्ञप्तिमा वर्षौयता नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको समेत जनाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार २०:०२
प्रतिक्रिया दिनुहोस्