१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

डर र दबाबले बालबालिकामा ‘मुड स्विङ’ !


२८ कात्तिक, काठमाडौं । तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ । त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ ।

विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ तर के भएको, उपचार के छ ? यसबारे भने थाहा नभएका कारण पनि कतिपय अभिभावक दिक्क मान्ने गर्छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बच्चाहरूमा छिनमै रिसाउने, हाँस्ने, भनेको नमान्नेजस्ता समस्या भएमा ‘मुड स्विङ’ हुनसक्ने जानकारी दिए । कतिपयले यस्ता बच्चालाई तह लगाउन गाली गर्ने, डर देखाउने वा कुट्ने गर्छन् तर यस्तो नगरी समयमा नै उपचार गर्नुपर्ने उनको सुझाव भन्दै गोरखापत्र दैनिकले समाचार प्रकाशन गरेको छ । ‘अभिभावकले बच्चालाई कुटेर र तर्साएर समस्याको समाधान हुँदैन,’ उनले थपे, ‘समाधान नहुने मात्र होइन, त्यसले गम्भीर असर पुर्‍याउन सक्छ ।’

जानकारका अनुसार समस्या बच्चाको होइन, अभिभावकको पनि हुनसक्छ । अभिभावकले नै बच्चाका यस्तो मनस्थितिमा परिवर्तन ल्याउन सक्छन् । बालमनस्थितिलाई त्यसै रूपमा व्यवहार नगरी मेसिन वा यन्त्रका रूपमा व्यवहार गर्दा बालबालिकामा बारम्बार मनस्थिति परिवर्तनको समस्या आउन सक्छ ।

सांकेतिक तस्बिर ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार ०७:०८