१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पूँजि निर्माण र परिचालनमा सहकारीसंग सहकार्य गर्न तयार छौँः कार्यवाहक मुख्यमन्त्री गुरुङ


२७ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पूँजि निर्माण र परिचालनमा सहकारी क्षेत्रको भूमिका अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सहकारी बैंक पोखरा शाखाले मंगलवार पोखरामा आयोजना गरेको संहकारी संघहरुको प्रवद्र्धनमा राष्ट्रिय सहकारी बैंकको भूमिका विषय एक दिने गण्डकी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

सहकारी क्षेत्रले सदस्यहरुसंग भएको पूँजिलाई परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान गर्न सक्ने भएकाले पूँजि निर्माण र परिचालनका लागि सहकारीहरुसंग समन्वय गरेर अगाडि बढ्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले सहकारीहरुले उत्पादनका क्षेत्रमा गर्ने कामको योजनासहित आएमा सहकारीसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकले खेलेको भूमिका सह्रानीय रहेको बताउनुभयो । उहाँले सहकारी बैंकमा प्रारम्भिक सहकारी संस्थादेखि महासंघसम्म सदस्य बन्ने भएकाले बैंकले गर्ने कार्यले समग्र सहकारी अभियानलाई प्रभाव पार्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा लेखा संयोजक धर्मदत्त देवकोटा, सञ्चालक तथा गण्डकी प्रदेश सभा सदस्य माननीय प्रभा कोइराला, बैंकका अध्यक्ष के.बी. उप्रेती, महासंघका सञ्चालक तथा नेफ्स्कुनका महासचिव चन्द्र ढकाल लगायतले सहकारी संघहरुको सक्रियताले समग्र सहकारी अभियानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनु भएको थियो । कार्यक्रममा सहकारी बैंकको संक्षिप्त परिचय तथा सहकारी संघहरुको प्रवद्र्धनमा राष्ट्रिय सहकारी बैंकको भूमिका विषयमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमका सहभागीहरुले सहकारी संघहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकले वित्तीय क्षेत्रका साथै नेतृत्व विकास, क्षमता विकास र नीति तथा कार्यविधि निर्माणमा सहयोग गर्नु पर्ने सुझाव दिनु भएको थियो । कार्यक्रम बैंकको पोखरा शाखा समन्वय उपसमितिका संयोजक तुलसी प्रसाद गुरुङको अध्यक्षता, सल्लाहकार तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीको स्वागत र शाखा प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । गण्डकी प्रदेश अन्तरगत गठित जिल्ला सहकारी संघहरु तथा विभिन्न विषयका जिल्ला स्तरीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु गरी ८५ जनाको कार्यक्रमका सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार १८:३६