८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नुवाकोटको एक विद्यालयमा प्रधानाध्यापकले भ्रष्टाचार गरेको रकम फिर्ता गर्न मानेनन् (प्रमाणसहित)


-प्रतिमा ढुंगाना

१९ कात्तिक, नुवाकोट । नुवाकोटको एक विद्यालयका तत्कालीन प्रधानाध्यापकले भ्रष्टाचार गरेको रकम कागज गरेर पनि फिर्ता नदिएपछि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तनावमा परेका छन । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर २ मा रहेको चापावोट आधारभुत विद्यालयका तत्कालीन प्रअ देवेन्द्र तामाङले आफूले हिनामिना गरेको रकम विद्यालयलाइ फिर्ता गर्ने लिखित सहमति समेत गरेको माइन्युट दैनिकीले प्राप्त गरेको छ ।

२०७६ असार १९ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा चार लाख रूपैयाँ तिर्ने सहमति गरेका छन । भ्रष्टाचार गरेको थाहा पाएपछि व्यवस्थापन समितिले देवेन्द्र सुधारिउन भनेर अर्को विद्यालयमा सुरूवा गराइ बिगो भराउने निर्णय गरेकोमा हालसम्म उनले उक्त रकम विद्यालयको खातामा जम्मा गरेका छैनन् ।

तत्कालीन प्रअ देवेन्द्र तामाङ र विद्यालय ।

देवेन्द्रले भ्रष्टाचार गरेको रकम फिर्ता गर्न नमानेपछि व्यवस्थापन समितिका अध्यक्षसहित सबै सदस्य गाउँपालिका कार्यालय पुगे तर गाउँपालिकाले समस्या समाधान गर्नेमा भन्दा देवेन्द्र तामाङको संरक्षणमा ध्यान दिएको समितिका सदस्यहरूको गुनासो छ । त्यसपछि समितिका सदस्यहरूले जिल्ला प्रशासन कार्याल र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा समेत देवेन्द्र तामङले भ्रष्टाचार गरेको विषयमा उजुरी दिएका छन । उजुरीको सम्बन्धमा सम्बन्धित निकायले अनुसन्धानको काम गरिरहेका छन ।

विद्यालयका तत्कालनी प्रधानाध्यापक देवेन्द्र तामाङले शौचालय बनाएको भनेर कागज तयार पारी रकम कुम्ल्याएको रहस्य यसअघि नै सार्वजनिक भएको छ । हाल उनी सोही गाउँपालिकाको वोर्लाङभूमि आधारभूत विद्यालयमा शिक्षकको रूपमा कार्यरत रहेका छन । प्रअ हुँदा देवेन्द्रले गरिब विद्यार्थीको नाममा आएको छात्रवृतिदेखि खाजाको पैसा समेत खाएको र लाखौँ रूपमा भ्रष्टाचार गरेको ठहर विद्यालय व्यवस्थापन समितिले गरेको छ ।

प्रअ देवेन्द्र तामङले चार लाख रूपैयाँ बिगो तिर्नका लागि हस्ताक्षर गरेको माइन्युट । रातो घेरामा विगोको बिबरण र तामाङको हस्ताक्षर ।

चापावोट आधारभूत विद्यालयको प्रअ हुँदा देवेन्द्रले लाखौँ रूपैया हिनामिना गरेको कागजतहरूबाट प्रष्ट हुन्छ । आफैँले भ्रष्टाचार गरेको हो भनेर बिगो तिर्न कागजी सहमति गर्ने तामाङले पैसा नदिएपछि व्यवस्थापन समितिका सदस्य भने तनावमा परेका छन । रकम हिनामिना गरेर स्वीकार गरेर तिर्ने सहमति गर्ने तर नतिर्ने उनको रबैयालाइ गाउँपालिकाले साथ दिएको बुझिएको छ । प्रमाणित हुने गरी रकम हिनामिना गरेको भेटिँदा र व्यवस्थापन सिमितिले लिखित रूपमा गुनासो गर्दा समेत सुनुवाइ नगर्नुले शिवपुरी गाउँपालिकाको प्रमुख लगायतको नियतमा शंका उत्पन्न भएको व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर तामाङले बताए ।

अनियमितताको श्रृंखला

चापावोट आधारभूत विद्यालयमा २०७३ साल माघमा हेमबहादुर तामाङ व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भए । त्यसपछि फागुन पहिलो साता बसेको व्यवस्थापन समितिको दोस्रो बैठकले हेमबहादुरको नाममा खाता सञ्चालन गर्ने निर्णय गर्यो र सोही अनुसार सदस्यसचिव समेत रहेका प्रअ देवेन्द्रलाइ खाता सञ्चालनको व्यवस्था मिलाउन निर्देशन पनि दियो तर त्यसपछिको पाँच महिना विद्यालयका पूर्व अध्यक्ष एवं हाल जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापासँग मिलेर उनले थुप्रै रकमहरू हिनामिना गरेको तथ्य देखिन्छ ।

व्यवस्थापन समितिका सदस्यले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीको प्रतिलिपि ।

प्रअ तामाङले फागुनमा दिएको निर्देशन अटेर गरेर २०७४ साल जेठ १७ गतेमात्र खाता सञ्चालनमा ल्याएको हालका व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर तामाङले दैनिकीलाइ जानकारी दिए । उनले हरेक निर्णयमा प्रअको कमजोरी देखिएको र अनियमित तरिकाले विद्यालयबाट निकासा गरेर लिएको रकम जम्मा गर्न निर्देशन दिँदा समेत नमानेको बताए । तामाङले गरेको भ्रष्टाचार अडिटमै प्रष्ट देखिएको लेखा समितिका कुमार तामाङ बताउँछन । उनका अनुसार तत्कालीन प्रअ तामाङले विद्यालयलाइ प्राप्त भएको सबै चन्दा समेत खाएका छन ।

विद्यालयभित्रको वेथितिकोबारे लखौँ नेपाली जानकार छन । किनकी हरेक मानिसहरू कुनै न कुनै रूपमा विद्यालयसँग जोडिएका छन । सामूदायिक विद्यालयहरूमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका कतिपय सदस्यको मिलेमतोमा भन्दा बढी भ्रष्टाचार हुने गरेको छ । सुक्ष्म रूपमा खोजी गर्दा वेथितिबिहिन सामुदायिक विद्यालय पाउन मुस्किल छ । विद्यालयमा हुने विभिन्न खालका भवन निर्माणदेखि, गरिब विद्यार्थीका नाममा आएका छात्रवृत्ति र खाजाको पैसामा सेमत उनीहरूको गिद्दे नजर पर्ने गरेको छ । तथापी स्थानीय सरकारहरूको गठन भएपछि यस्ता गतिबिधि न्यूनिकरण हुने आशा गरिएपनि त्यसो हुन सकेको छैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार १०:१५