६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

बंगलादेशी राष्ट्रपति हमिद काठमाडौंमा, विमानस्थलमा राष्ट्रपति भण्डारीद्धारा स्वागत


२६ कात्तिक, काठमाडौँ । ४ दिने भ्रमणका लागि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलवार काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद मंगलवार दिउँसो काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन् ।

भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय भोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तय भएको परराष्ट्र स्रोतले जानकारी दियो । नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । नेपाल बसाइका बेला बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन् । राष्ट्रपति हमिद आजै भक्तपुर जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार १३:४८