१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

चन्द्रगढी विमानस्थल १० दिनका लागि बन्द


२६ कात्तिक, झापा । झापाको चन्द्रगढी विमानस्थल आज (मंगलबार) देखि १० दिनका लागि बन्द गरिएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सञ्चालन गर्न भन्दै आजदेखि मंसिर ५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गरेको हो ।

१५ सय मिटर लामो र ३० मिटर चौडा धावनमार्ग यसअघि पनि गत भदौ २० देखि असोज ४ गतेसम्म दिउँसो २ बजेदेखि उडान बन्द गरी मर्मत गरिएको थियो । तर त्यो बेलाको मर्मत सम्भार प्रभावकारी नभएकाले यसपटक पूर्ण रुपमा उडान बन्द गरी काम आरम्भ गरेको उड्डयन कार्यालय प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।

गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौंले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँमा ठेक्का लिएको छ । अहिले चण्द्रगढीमा विमानस्थलमा काठमाडौंबाट बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान गर्दै आएका छन् । -रासस

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार ०९:५६