१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बहुउपयोगी बन्दै बायोग्यास


२६ कात्तिक, काठमाडौं । नगरको फोहोर गाईवस्तुको मललगायतका वस्तुबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा बायोग्यास र कृषकलाई प्राङ्गारिक मल पुराउने लक्ष्यसाथ देशभर निर्माण थालिएका एक दर्जन ठूला बायोग्यास प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छन् । कतिपयले त उत्पादनसमेत थालिसकेको गोरखापत्र दैनिकले खबर छापेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैंकको आर्थिक सहायतामा देशभर साढे ४ सयभन्दा धेरै आयोजना बनिरहेको केन्द्रले छ । परियोजनाअन्तर्गत अहिलेसम्म ठूला र नगर फोहोरका १६५ र संस्थागत तथा सामुदायिक ३ सय आयोजना निर्माण गरिएको केन्द्रले जनाएको छ ।

यीमध्ये व्यावसायिक प्रयोजनका १ हजार ५ सय घनमिटर क्षमताभन्दा ठूला १२ आयोजना आकर्षक आयोजना छन् । ४ प्लान्टबाट ग्यास, मल तथा विद्युत्समेत उत्पादन सुरु भएको छ । केन्द्रको ४० प्रतिशत अनुदान सहायतामा बनेका ४ हजार घनमिटर क्षमताको गण्डकी ऊर्जा प्रालि (पोखरा), तीन हजार सात सय घनमिटर क्षमताको एनभी पावर इनर्जी, यस्तै १५ सय घनमिटरको दोस्रो प्लान्ट र तीन हजार पाँच सय घनमिटर क्षमताको खिलुङ कालिका एग्रो फार्म (स्याङ्जा) ले उत्पादनसमेत थालेको बायोग्यास विस्तार कार्यक्रमका कार्यक्रम अधिकृत अनुपम भुसालले जानकारी दिए ।

खिलुङ कालिकाले कुखुराको सुलीबाट विद्युत् उत्पादन नै थालेको छ । कुखुरा उत्पादन गरिरहेको उक्त फार्मबाट ३५० किलोवाट विद्युत् उत्पादन भएको छ । यो विद्युत् आन्तरिक खपतकै लागि प्रयोग गरिएको छ । सञ्चालक शोभाकान्त ढकालका अनुसार बायोग्यास प्लान्टका कारण कुखुराको सुली व्यवस्थापन सहज भएको छ भने बिजुली पनि प्राप्त भएको छ । दैनिक औसत १० टनसम्म प्राङ्गारिक मल पनि उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । “कुखुरा फार्म सञ्चालन, आफैँलाई चाहिने बिजुली उत्पादन र प्राङ्गारिक मलको व्यवसायका हिसाबले यो परियोजना लाभदायी हुने देखेको छु,” उहाँले भन्नुभयो, मलको खपत बढाउन सक्ने हो भने यसले लाभ दिने देखिन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार ०७:५३