७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भारतलाई टी-२० क्रिकेट शृंखला


२५ कात्तिक, काठमाडौं । भारतले बंगलादेशसँगको टी-२० क्रिकेट शृंखला २-१ ले जितेको छ । आइतबार राति भएको खेलमा बंगलादेशलाई ३० रनले पराजित गर्दै भारतले शृंखला हात पारेको हो । यसअघि पहिलो खेलमा पराजित भएको भारतले दोस्रो खेलमा पुनरागमन गरेको थियो । शृंखलाअन्तर्गतको अन्तिम खेलमा दीपक चाहरले कीर्तिमानी विकेट लिएपछि भारतले सहजै जित निकाल्यो ।

१७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.२ ओभरमा सबै विकेट गुमाएर १४४ रनमा सीमित भयो । बंगलादेशका लागि मोहम्मद नाइमले ८१ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । त्यस्तै, मोहम्मद मिथुनले २७ रन जोडे ।

चाहरले ३.२ ओभरमा सात रन खर्चिएर ६ विकेट लिए । यो टी-२० क्रिकेटको उत्कृष्ट बलिङ फिगर हो । यसअघि यो कीर्तिमान श्रीलंकाका स्पिनर अजन्ता मेन्डिसको नाममा थियो । उनले जिम्बाबेविरुद्ध ८ रन खर्चिएर ६ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । भारतको लागि श्रेयश ऐयरले ६६ र केएल राहुलले ५२ रन बनाएका थिए ।

बंगलादेशका लागि सौम्य सरकार तथा साफिउल इस्लामले समान दुई विकेट लिँदा अल अमिन हुसेनले एक विकेट लिए । चाहर खेलको प्लेअर अफ दी म्याच र प्लेअर अफ सिरिज घोषित भए । उनले शृंखलामा ८ विकेट लिएका छन् । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार ०९:१७