७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्रीको सचिवालयमा कार्यरतले दिए एकमुष्ठ राजिनामा, क-कस्को स्वीकृत होला ?


-पवित्रा मुडभरी 

२३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत १० बढी सल्लाहकार र सहयोगीले राजिनामा दिएका छन । शुक्रबारको समिक्षा बैठकमा प्रधानमन्त्रीलाई काम गर्न केही अफ्ठेरो महशुष भएको भन्दै सल्लाहकार र सचिवालयका कर्मचारीले राजिनामा दिएका हुन । प्रधानमन्त्रीले निर्देशन दिएकाले राजिनामा दिने तयारीमा रहेको भन्दै समाचारहरू बाहिरिएपछि दैनिकीले प्रधानमन्त्रीका सल्लाहकार समूहका केही सदस्यसँग जिज्ञासा राख्दा शुक्रबार नै राजिनामा दिएको पुष्टि भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली ।

दैनिकीको सम्पर्कमा रहेका सल्लाहकारले भने ‘हामीले प्रधानमन्त्रीले निर्देशन दिएकाले राजिनामा दिइएको होइन, समिक्षा बैठकमा सबैले राजिनमा दिउँ प्रधानमन्त्रीलाई काम गर्न सहज गरौँ भनेर सल्लाह भयौँ हामीले राजिनामा दियौँ ।’ उनका अनुसार सचिवालयमा कार्यरत र सल्लाहकारको समूहले राजिनामा दिएको हो । राजिनामा सबैले व्यक्तिगत रूपमा दिएका छन । दैनिकीसँगको सम्पर्कमा रहेका  प्रधानमन्त्रीको सल्लाहकार समूहका अर्का एक सदस्यका अनुसार सबैको राजिनामा मंसिर १ गतेदेखि लागू हुनेगरी दिइएको छ । उनका अनुसार राजिनामा दिएका सबैका स्वीकृत हुन्छ भन्ने छैन ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल ।

प्रधानमन्त्रीले आवश्यक ठानेका सदस्यको राजिनामा स्वीकृत नहुन सक्छ । त्यसमा को को पर्छन भन्ने कुनै पूर्वानुमान रहेको छैन । राजिनामा दिनेमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय उपसचिव दिपेन्द्र दाहाल, सूचना विज्ञ रामशरण बजगाइँ, सूचना प्रविधि विज्ञ अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी लगायत रहेका छन ।

तस्बीरमा क्रमश प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, सूचना प्रविधि विज्ञ अस्गर अली ।

अडियोभिडियो विज्ञको रूपमा प्रधानमन्त्रीलाई नै जानकारी नपाई नियुक्ति लिएका मनोजराज पाण्डेले भने यसअघि नै राजिनामा दिइसकेका छन । पाण्डे माथि विप्लव समूहको शैलीमा डकुमेन्ट्री र रिपोर्टका नाममा प्रधानमन्त्रीको नाम लिएर सिंहदरबार भित्रै चन्दा आतंक मच्चाएको आरोप लागेको थियो । प्रधानमन्त्रीको सचिवालयमा जागिर पनि खाने, नेपाल टेलिभिजनमा पैसा नतिरी कार्यक्रम प्रशारण गर्ने र त्यही कार्यक्रममा नाममा करोडौँ असुलेको भन्दै सरकारका मन्त्रीहरूले नै प्रधानमन्त्रीलाई सप्रमाण जानकारी गराएपछि उनको कार्यक्रम नै बन्द गराउने निर्णय भएको थियो । उक्त कार्यक्रम बन्द भएपछि प्रधानमन्त्री ओलीको अलि कम अलोचना भएको छ । उनी निकटकाले उक्त कार्यक्रमले प्रधानमन्त्रीको आलोचना बढाएको भन्ने निस्कर्ष समेत निकालेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल ।

प्रधानमन्त्रीले कसको राजिनमा स्वीकृत गर्छन र कसको अस्वीकृत गर्छन भन्ने कुनै पूर्वानुमान रहेको छैन । यद्यपी विभिन्न आरोप लागेका केहीका सन्दर्भमा प्रधानमन्त्रीले पुनर्विचार गर्ने सम्भावना कम रहेको छ । केहीका सन्दर्भमा भने प्रधानमन्त्रीले पुनर्विचार गर्न सक्ने सम्भावना रहेको छ । प्रधानमन्त्री ओलीको हरेक आलोचनामा सचिवालयको कमजोरीका कारण रहेको भन्दै चर्चा हुने गरेको छ । प्रधानमन्त्रीले सल्लाहकार समूहबाट सहयोगको अपेक्षा राख्ने तर समूहका सदस्यहरू आफ्नो स्वार्थपूर्तिमा लागेपछि यसअघि नै केही सदस्यले राजिनमा दिउने भन्ने चाहेका थिए । ढिलै भएपनि प्रधानमन्त्रीको उक्त इच्छा पूरा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देखाइएका सल्लाहकार र स्वकीयको विवरण ।

सचिवालयकै कारण प्रधानमन्त्री र पार्टीका नेताहरूबीचको दूरी समेत बढेको छ । प्रधानमन्त्रीका विगतका सहकर्मीले समेत १५ महिना प्रयास गर्दा समेत प्रधानमन्त्री भेट्न पाएका छैनन् तर भारतीय होरोइनहरू आउँदा सहजरूपमा भेट्नै मात्रै होइन प्रधानमन्त्रीको जन्मदिनको केक समेत खान भ्याएका छन । प्रधानमन्त्रीको सचिवालयका सदस्यले राजिनामा दिएकै शैलीमा मन्त्रीहरूले पनि दिनुपर्ने हो कि भन्ने पूर्वानुमान समेत भएका छन । यद्यपी केही मन्त्री परिवर्तन गर्न प्रधानमन्त्रीलाइ पार्टीभित्रैबाट ठूलो दबाब रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार २०:०४